चितवन विशेष

भरतपुरको क्यान्सर अस्पतालले साँझमा पनि अतिरिक्त सेवा दिने,निजी अस्पतालमा धाउन नपर्ने

Banner

चितवन,असोज २१-

पछिल्लो समय सुधार हुँदै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस)शुरु गरिने भएको छ । शुरुमा साँझको समयबाट सेवा शुरु गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार साँझ ४ः३० बजेबाट विस्तारित स्वास्थ्य सेवा उपलब्ध गराइने छ । काठमाडौँका सिभिल र गङ्गालाल अस्पताजस्तै नमूना सेवा प्रदान गरिने आचार्यले जानकारी दिनुभयो । जसबाट बिरामीले पालो कुर्न नपर्ने र कम खर्चमा सेवा पाउने जनाइएको छ । रेडियोलोजी र प्याथोलोजीको सेवा अन्य समयकै दर रेटमा उपलब्ध गराइने भए पनि अरु सेवामा केहि बढी शुल्क लाग्ने छ ।

यद्यपि निजीको तुलनामा निकै सस्तोमा बिरामीले उपचार पाउने आचार्यको भनाइ छ । अस्पताल स्थापनाका समयमा चिकित्सक कर्मचारीलाई आकर्षक भत्ता उपलब्ध गराइ बाहिर काम गर्न नपाउने व्यवस्था गरिएको थियो । पछि भत्तामा केही कम गरी बाहिर काम गर्न छुट दिइएको थियो । त्यसकै नाममा अस्पतालका चिकित्सक र कर्मचारीले बिरामी बाहिर पठाउने गरेको आरोप लाग्ने गरेको थियो । आचार्यले विस्तारित सेवा अस्पतालमा शुरु भएपछि साँझमा पनि बिरामी बाहिर जानुनपर्ने बताउनुभयो ।

विस्तारित सेवामा काम गर्ने चिकित्सक कर्मचारीले अतिरिक्त रकम पाउने छन् । बिरामीबाट लिइने सेवा शुल्कले चिकित्सक कर्मचारीलाई भत्ता उपलब्ध गराइने छ । झण्डै तीन वर्षअघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । पछिल्ला समयमा सेवा विस्तारसँगै उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । २० वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन् । जसमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । एक सय शै्याबाट शुरु भएको अस्पतालमा हाल ४५० शै्या रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>