खेलकुद
‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’ भोलिदेखि, तयारी पुरा

चितवन, असोज २९–
चितवनमा सर्वाधिक धनराशीको राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’ भोलि (बिहीबार)देखि सुरु हुँदैछ ।
नारायणगढ जेसीजको आयोजनामा नारायणगढस्थित क्याम्पाचौरमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको छ ।
नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए । उनले निकै नै मेहनत गरेर मैदान तयार पारिएको बताए ।
कार्तिक ९ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुने टिमलाई दुई समूहमा विभाजन गरिएका छन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र नेपाल आर्मी क्लब समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, युनाइटेड दार्जिलिङ, जावलाखेल युथ क्लब र संकटा क्लब रहेको प्रतियोगिता संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।
मैदानको पश्चिमतर्फ बनाइएको अस्थायी प्याराफिटमा करिब एक हजार आठ सय दर्शक अटाउने दाबी आयोजकको छ । प्रतियोगितामा विजयी हुनेले ६ लाख ६ हजार ६६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले तीन लाख तीन हजार ३३३ रुपैयाँ पुरस्कार पाउने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको क्वाटरफाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनल अवलोकनका लागि दुई सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक अधिकारीले बताए ।
























