चितवन विशेष
दुग्ध उत्पादक किसानलाई प्रदेश सरकारले प्रतिलिटर एक रुपैंया अनुदान दिने

चितवन,असोज २८-
प्रदेश नम्वर ३ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंया अनुदान दिने भएको छ । आज अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड भरतपुरको ३६ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्दै प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध उत्पादन बढाउनका लागि यो बर्ष देखि प्रतिलिटर एक रुपैयाँ अनुदान दिन लागेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले किसानलाई लक्षित गरेर अनुदानका कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । उहाँले दुग्ध उत्पादक किसानलाई दिइने अनुदानको कार्यक्रम यसैबर्षदेखि लागु हुने बताउनुभयो ।
मन्त्री लामाले दुग्ध तथा पशुपालन किसानका लागि व्यवस्था गरिएको अनुदानमा पहुँच बढाउन कृषकलाई आग्रह गर्नुभयो । कृषि उपज प्रविधि र अनुदानका लागि कृषि विकास बैंकसंग सहकार्य गरी सहुलियत कर्जाका लागि समन्वय गर्नुपर्ने उहाँको भनाई छ ।
यस्तै साधारण तथा अधिवेशन कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाईले किसानहरु निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । पछिल्लो समयमा संघिय, प्रदेश र स्थानीय सरकारले पशुपालन क्षेत्रमा बढि बजेट विनियोजन गरेकाले किसानहरु उत्साहित हुनुपर्ने बताउनुभयो । उहाँले भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले यन्त्रीकरणको लागि अनुदानका कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो ।