चितवन विशेष
ज्ञानेन्द्र शाहीले प्रहरीलाई खबर नगरी आउँदा घटना भयोः एसपी मल्ल

चितवन,असोज ११-
चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले ज्ञानेन्द्र शाहीले खबर नगरी चितवन आएका कारण घटना भएको बताएका छन् । नारायणी अनलाइनसंग कुरा गर्दै मल्लले चितवनमा थ्रेट छ भन्दा भन्दै पनि शाही जबरजस्ती चितवन आएको बताए । नेकपाका कार्यकर्ताले भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता शाहीलाई कुटपिट गरेका हुन् ।
‘मैले पनि ज्ञानेन्द्र शाहीलाई चितवन नआउनुहोस् भनेको थिएँ,मल्लले भने’,अटेर गरेका कारण घटना भयो ।’ उनले घटनास्थलमा तत्काल प्रहरी पुगेकाले थप क्षति नभएको दावी गरे । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ ।
दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको टाउको चोट लागेको छ ।
शाहीको चितवन मेडिकल कलेजमा प्रारम्भिक चरणको उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । नेकपा कार्यकर्ताको कुटाइबाट अन्य दुई जना समेत घाइते भएका छन् । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।
नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।






















