चितवन विशेष
रत्ननगरमा पहिलो पटक सोमबार र शुक्रबार हाटबजार लाग्ने

रत्ननगर, असोज ८-
रत्ननगरमा प्रत्यक सोमबार र शुक्रबार हाटबजार लाग्ने भएको छ ।
कल्याण टोल विकास संस्था र हरिहर टोल विकास संस्थाको व्यवस्थापनमा सञ्चालन हुने सो हाट बजार यही असोज १० गतेबाट सुुरु हुने छ । हाटबजारमा १०० वटा स्टल रहने र ६० वटा स्टल बुकिङ भइसकेको हाट बजार व्यवस्थापन समितिका संयोजक केशव रिजालले जानकारी दिए । हाट बजार बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । कृषि उत्पादनको बजारीकरणको लागि रत्ननगरमै पहिलो पटक हाटबजार सञ्चालन गर्न लागिएको हो ।
हाटबजारको स्टलमा तरकारी, फलफूल र लत्ता कपडाका बिक्रीका लागि राखिने छ । व्यवस्थापन समितिका सल्लाहकार यादव पाठकले किसानलाई बजार र उपभोक्तालाई बजारको सहज पहँुचको लागि हाटबजार सञ्चालन गर्न लागिएको बताए । सटर लिने किसान तथा व्यवसायीबाट दर्ता शुल्क स्वरुप सुुरुमा एक हजार रुपैयाँ लिइने र एक दिनको १०० रुपैयाँ लिइने छ । वडा नं १० का वडाध्यक्ष केशव आचार्यले रत्ननगर नगरपालिकाको सहयोगमा टोल विकास संस्थालगायत वडाको अगुवा व्यक्तिको सक्रियतामा सुरु हुन लागेको हाटबजारबाट किसानले प्रत्यक्ष फाइदा दिन सक्ने बताए ।
























