चितवन विशेष

चितवनमा कांग्रेसको प्रदर्शनः कांग्रेसलाई नचिन्नेहरु सकिन्छन्-नेता खाँड

Banner

चितवन, असोज ७-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज चितवनमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

पार्टीले सुरु गरेको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन आज भरतपुरको चौबिसकोठीदेखि नारायणगढको पुलचोकसम्म कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपालमा लोकतन्त्र स्थापनाको लागि कांग्रेसको महत्वपूर्ण योगदान दिएको भन्दै कांग्रेसको विरोध गर्नेहरु आफै समाप्त भएर जाने बताए । उनले भने, ‘ कांग्रेसको विचारलाई दबाउन खोज्दा हिजो राणा, पञ्चायत र राजतन्त्र सिद्धिएको भन्दै अब सिद्धिने पालो ओलीको आएको छ ।’ जसले जनतालाई स्वीकार गरेन, जसले लोकतन्त्र र कांग्रेसलाई स्वीकार गरेन ती सबै समाप्त भएको बताए । उनले लोकतन्त्र र विधिको शासन नमानेर यो सरकारले संविधान च्यात्न खोजेको आरोप लगाए । उनले भने, ‘सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ जुन नेपाली कांग्रेसलाई स्वीकार्य छैन ।’ लोकतन्त्रलाई कमजोर पार्न ओली सरकारको निशानामा संविधान परेको उनले बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा भएको विरोध सभामा नेता खाँडले सरकारले जुन मानवअधिकार ऐन ल्याएको छ जसमा अन्तर्राष्ट्रिय अभिसन्धिको खिलापमा ल्याउने प्रयास भएको बताए । उनले यो विद्येयक सिंहदरबारबाट फर्काएर लैजाउ भन्दै कांग्रेस यसको विरोधमा उभिएको दाबी गरे । उनले भने, ‘राष्ट्रियताको दुहाइ दिएर नथाक्ने ओलीले ल्याएको सुरक्षा परिषद्को प्रस्तावित विद्येयकमा नेपाली सेनालाई आफ्नो मनखुसी प्रयोग गर्ने गरी बिधेयक ल्याइयो । जसको हामीले विरोध गरेका छौं । ’

महंगी, भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको संविधानको भावना प्रतिकुल विधेयक ल्याएको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध सभामा बोल्ने अधिकांश कांग्रेस नेताहरुले सरकार संविधान भत्काउनमै लागेको अरोप लगाए । त्यस्तै उनीहरुले निर्मला हत्या प्रकरणमा सरकार कानमा तेल हालेर बसेको छ । आम नागरिकको सुरक्षा र अधिकार रक्षाको लागि यो सरकार पूर्णतया असफल भएको छ । सभामा कांग्रेस नेता रामचन्द्र अधिकार माइकल, महिला नेतृ धनलक्ष्मी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>