खेलकुद
चितवनमा सर्वाधिक धनराशीको ‘जेसीज विकास रनिङ शिल्ड–२०७६’ हुने

चितवन, असोज ६–
चितवनमा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘जेसीज विकास रनिङ शिल्ड–२०७६’ हुने भएको छ ।
आयोजक नारायणगढ जेसीजले सोमबार पत्रकार सम्मेलन गरी यही असोज ३० गतेदेखी कार्तिक ९ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । यसअघि जेसीजले आयोजना गरेको ‘जेसीज कप’ र विकास शिल्ड समितिले आयोजना गर्दै आइरहेको ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर यो प्रतियोगिता आयोजना गर्न लागिएको नारायणगढ जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । उनले चितवनमा स्तरीय फुटबल प्रतियोगिताको रुपमा स्थापित गर्नका लागि दुईवटै आयोजक मिलेर यो प्रतियोगिता गर्न लागेको बताए ।
यसपटकको प्रतियोगितामा ‘ए’ डिभिजनका ८ वटा क्लव र आयोजकसहितको दुई क्षेत्रीय क्लव गरी वटा टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका मनाङ मस्याङ्दी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, जावलाखेल युथ क्लव, सरस्वती क्लव, फ्रेण्ड्स क्लव, संकटा क्लव, चितवन ११ र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ, शिल्ड र उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ, शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको छ । प्रतियोगितालाई भव्य बनाउन तयारी तिव्र पारिएको प्रचार प्रसार समितिका संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । प्रतियोगिताको हरेक खेल दिउँसो ३ः३० बजेदेखी सुरु हुनेछ ।