चितवन विशेष
संविधान दिवसको दिन चितवनमा विविध झाँकीसहितको र्याली प्रदर्शन गरिने

चितवन, असोज १-
संविधान दिवसको दिन चितवनमा विशेष झाँकीसहितको र्याली निकालिने भएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा आज भएको बैठकले दिवस मनाउने सम्बन्धमा विविध निर्णयहरु गरेको हो । दिवस अन्तर्गत असोज २, ३ र ४ गते सरकारी र गैरसरकारी कार्यालय तथा संस्था र जनताको घरघरमा साँझ दिपावली गर्ने र गर्न भनी अनुरोध गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले असोज ३ गते साँझ ६ बजे चौबिसकोठीमा दिपावली गर्ने निर्णय गरेको छ । वर्तमान संविधानको बारेमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम असोज २ गते १ बजे बार एशोसिएसन चितवनले गर्ने निर्णय भएको पनि जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्लाका विद्यार्थीहरु लक्षित गरी कविता, हाजिरीजवाफ, निबन्ध, वक्तृत्वकला प्रतियोगिता भरतपुर महानगर शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाइले गर्ने निर्णय गरिएको छ । असोज ३ गते बिहान ७ बजे झाँकी, व्याण्डबाजाको साथमा राष्ट्रिय झन्डासहित लायन्सचोकबाट पुल्चोक हुँदै लिलाचोक र अन्त्यमा नारायणी कला मन्दिरमा पुगेर टुङ्ग्याइ औपचारिक कार्यक्रम गरेर समापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
फाइल फोटो
























