चितवन विशेष

नारायणगढ–मुग्लिन खण्डका १५ पुलको टेण्डर आब्हान,एक अर्ब ३० करोड खर्च हुने

Banner

चितवन,असोज १-

सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गर्नुभएको थियो ।

हाल ती पुलहरु छ मिटर हाराहारी फराकिला छन् । सडक भने नौदेखि ११ मिटर फराकिलोे छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईका अनुसार एक साताअघि डिजाइनसहित निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । एक महीनाभित्रमा प्राप्त बोलपत्रमध्ये छनोट गरी ठेक्काको टुङ्गो लगाइनेछ । ती पुल निर्माण सम्पन्न गर्न करीब तीन वर्ष लाग्ने अनुमान गरिएको भट्टराईले जानकारी दिनुभयो ।

बोलपत्रको टुङ्गो लागेपछि वास्तविक लागत आउने भए पनि रु एक अर्ब ३० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । शुरुमा नेपाल सरकारले पुल निर्माणको भुक्तानी गर्नेछ । पछि सो रकम ऋणका रूपमा विश्व बैंकले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । निर्माण गर्न अप्ठ्यारो पर्ने तीन पुल नौ मिटर फराकिला हुनेछन् भने अन्य पुल ११ मिटर फराकिला हुने भट्टराईले बताउनुभयो ।

ठेक्का परेपछि ठेकेदार कम्पनीले पहिले पुलको नक्साङ्कन गर्नेछन् । सो नक्सा विभागले अनुमोदन गरेपछि निर्माणको काम शुरु हुनेछ । हाल सोही सडकखण्डका तीन पुल निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधीन अवस्थामा छ । साँघुरा र जीर्ण पुल भएकाले समय–समयमा सवारी आवागमनमा अवरोध हुँदै आएको छ ।

सडकको भित्ता काटेर फराकिलो बनाएसँगै यस वर्षको वर्षात्मा यात्रुले दुःख पाएका छैनन् । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवागमन हुने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकका रूपमा यस सडकलाई लिने गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>