चितवन विशेष

कालीगण्डकी डाइभर्सनको चितवनमा पनि बिरोध, परियोजना अघि बढ्न नदिने चेतावनी

Banner

निशा श्रेष्ठ

चितवन, भदौं ३०–

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारेको कालीगण्डकी डाइभर्सनले साँस्कृतिक महत्व बोकेको देवघाटधाम र नारायणीको अस्तित्व समाप्त पार्न खोजिएको भन्दै चितवनमा पनि बिरोध सुरु भएको छ ।

देवघाट क्षेत्र विकास समिती, नेपाल सन्त समाज, देवघाट गाउँपालिकाको संयुक्त आयोजनामा आज (सोमबार) ‘कालीगण्डकी डाइभर्सन र प्रभाव’ विषयक कार्यक्रममा सहभागीहरुले कालीगण्डकीको प्रवाह तिनाउँमा खसाल्दा नारायणी जलप्रवाह आधा कम हुने बताएका छन् ।

राजनीतिको एजेन्डाको आधारमा धार्मिक, साँस्कृतिकको गौरव बोकेको कालीगण्डकीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा पानी खसाउँदा कालीगण्डकी नदी सुक्ने र यसको अस्तित्व समाप्त हुने भन्दै सरकारको परियोजना खारेज गर्नुपर्ने माग उनीहरुको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विश्वमा नै कतै नपाइने शालिग्राम ढुङ्गालगायतका साँस्कृतिक महत्व रहेको भन्दै मन्त्री गुरुङले भने–‘कालीगण्डकी डाइभर्सन हुनु भनेको शीर छेदन गर्नु हो । शीर छेदन गरुन्जेल हामी हेरेर बस्न सक्दैनौं, यसलाई डाइभर्सन हुन दिदैनौं ।’ उनले चेतावनी दिँदै थपे–‘यो परियोजना कुनै पनि हालतमा अगाडि बढ्दैन, परियोजना खारेज नभएसम्म आन्दोलन गर्छौ ।’

यस्तै मन्त्री गुरुङले कालीगण्डकी ड्राइभर्सन आफ्नै घरको धारो काटेर फाल्नु सरह भएको भन्दै सरकारको परियोजना फिर्ता गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

कालीगण्डकी नदीलाई राम्दी पुलदेखी १५ सय मिटर तल स्याङ्जाको मालुङ्गा पाल्पामा बाधबाधी ९ मिटर व्यासमा ३० किलोमिटर सुरुङ्बाट पाल्पाको दोभानबाट १८२ मी उचाईबाट तिनाउँ नदीमा खसालिने योजना रहेको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठले डाइभर्सनले गर्दा कालीगण्डकीको पानी पूर्णरुपमा सुक्ने र उत्तरबाहिनी, रामपुर, केलादीघाट, देवघाट जस्ता धार्मिक क्षेत्रले स्वरुप बद्ल्न सक्ने बताए ।

यस्तै नवलपुर क्षेत्र नं २ प्रतिनिधि सांसद तिलक महतले राजनीति भन्दा माथी पहिचान, सभ्यता माथी रहने भन्दै यस परियोजना खारेजीको लागि संसदमा बोल्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै प्रदेश ३ का सांसद विजय सुवेदीले कालीगण्डकी डाइभर्सन असम्भव कुरा रहेको बताए । उनले इतिहास र पहिचानमा खुशी हुनुपर्ने बताए । यस्तै कालीगण्डकी नेपालीको आमा रहेको भन्दै नदीलाई दिशा परिवर्तन गरेर नभई आफ्नै इच्छाअनुसार बग्न दिनुपर्ने बताए ।

यस्तै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले प्रकृतिलाई बदल्ने अधिकार कसैलाई नभएको बताए । उनले भने–‘हामी जनप्रतिनिधि शीर छेदन गर्न तयार छौं तर डाइभर्सन हुन दिँदैनौं ।’

कार्यक्रममा चितवनसंगै पाल्पा, तनहुँ, नवलपुरलगायतका जिल्लाका सरोकारवालाको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>