चितवन विशेष
वक्तृत्वकलामा बन्जरा र नृत्यमा लम्साल पहिलो

चितवन, भदौं २९-
चितवनको रत्ननगरमा राष्ट्रिय बाल दिवसमा भएको वक्तृत्वकला तथा तृत्य प्रतियोगितामा आशिष बन्जरा र सिया लम्साल पहिलो भएका छन् ।
प्रतियोगितामा वक्तृत्वकलामा रोशनी रेग्मी दोस्रो र शुनिल थापामगर तेस्रो भएका छन् । उनीहरुले क्रमश तीन हजार ६५०, दुई हजार ५५० र एक हजार ५०० पुरस्कार पाएका छन् । त्यसैगरी नृत्य प्रतियोगिता तर्फ सिया लम्साल पहिलो, रोजिना श्रेष्ठ दोस्रो र एलिसा परियार तेस्रो भएको महिला तथा बालबालिका शाखा प्रमुख रञ्जना पौडेलले जानकारी दिइन् । उनीहरुले क्रमस तीन हजार ६५०, दुई हजार ५५० र एक हजार ५०० पुरस्कार पाएका छन् । दुवै प्रतियोगितामा नगरस्तरीय तथा वडास्तरीय बाल क्लबमा आबद्ध विद्यार्थीले सहभागिता जनाएका थिए ।
बाल सञ्जालकी अध्यक्ष रानिसा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरलाई बाल अधिकारको हिसाबले मुलुककै नमुना नगरपालिका बन्ने दाबी गरिन् । रत्ननगरलाई २०६७ साल भित्र बालश्रम मुक्त बनाउने र सन् २०२० भित्र बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको उनले बताइन् ।
नगरभित्र रहेका श्रमिक बालबालिकाको संख्यालाई शून्यमा झारेर बालमैत्री नगरपालिका बनाइने उनको भनाइ छ । वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल, नगरस्तरीय बाल सञ्जालकी निर्वतमान अध्यक्ष युनिका ढकाललगायतले मन्तव्य राखेका थिए ।
























