मकवानपुर

सामुदायिक विद्यालयमा सुधार आवश्यक छः मन्त्री पोखरेल

Banner

हेटौँडा, भदौ २८–

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता, जनप्रतिनिधि र उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना बालबालिकाको लागि सामुदायिक विद्यालय छनौट गरेमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने बताएका छन् ।

आज हेटौँडामा आयोजित नमूना विद्यालय हस्तान्तरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सरकारले गरेको ठूलो लगानीको उचित प्रतिफल ल्याउनका लागि सामुदायिक विद्यालय सुधार कार्य आवश्यक रहेको बताए ।
मन्त्री पोखरेलले भने, ‘अब सामुदायिक विद्यालयमा साधारणभन्दा पनि प्राविधिक शिक्षाको पढाइ आवश्यक छ । यसले शिक्षालाई सीप, सीपलाई रोजगारी र रोजगारीले समृद्धि सम्भव हुन्छ ।’

उनले हालसम्म नेपालमा ८० प्रतिशत साधारण र २० प्रतिशत मात्र प्राविधिक शिक्षा अध्यापन गराइने भएकाले अब यसलाई उल्टाउनुपर्ने समय आएको बताउँदै अबको दिनमा सामुदायिक विद्यालयले नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शैक्षिक गतिविधि अगाडी बढाउनुपर्ने बताए ।

मन्त्री पोखरेलले नेपाल सरकारले पाँच वर्षभित्र विद्यालय भवनहरुको पुनःनिर्माण सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गर्दै अब एक हजार ७०० विद्यालय पुनःनिर्माण हुन बाँकी रहेको र जग्गा लगायतका विवादका कारणले त्यो कार्य अड्किएको बताए ।

सङ्घीय लोकतन्त्रको यथार्थ जनजनमा पुर्‍याउन शिक्षा नै उपयुक्त माध्यम भएको बताउँदै उनले अबको दिनमा हिजोको शैलीमा गराइने पठनपाठनले काम नगर्ने हुँदा पुरानो ज्ञान दिनेमात्र नभएर नयाँ ज्ञान सिक्नतर्फ शिक्षक उन्मुख हुनुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले विगतमा शिक्षक हुन राजनीतिक दल, ट्रेड युनियनमा जोडिएको जस्तो अबको दिनमा विद्यार्थीको परीक्षाफलमा जोडिनुपर्नेमा बताउँदै शिक्षामा क्रान्तिको आवश्यकता र त्यो क्रान्ति सिकाइले मात्र ल्याउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागार्इंको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>