चितवन विशेष
प्रभात दिदीबहिनी सहकारीमा बिमलाको नेतृत्व

चितवन, भदौं २२-
प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समितिमा बिमला न्यौपाने ज्ञवाली चयन भएकी
छन् ।
प्रभात दिदीबहिनी सहकारी संस्था लिमिटेडको २१ औं साधारण सभा तथा एकीकरण घोषणा सभाबाट ज्ञवालीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिमला तामाङ, सचिवमा साधना पोख्रेल, सहसचिवमा अम्बिका पौडेल सापकोटा, कोषाध्यक्षमा मञ्जु रेग्मी चयन भएका छन् । त्यसैगरी शान्ति अधिकारी, शान्ता अधिकारी, शोभा पाण्डे, सुमित्रा पौडेल, कमला पौडेल र लक्ष्मी कार्की सदस्यमा चयन भएका छन् ।
साथै आज प्रभात दिदी बिहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शक्तिखोर महिला सहकरी बीचमा एकीकरण भएको छ । साधारण सभा तथा एकीकरण घोषणा सभा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले महिला दिदीबहिनी मिलेर सञ्चालन भएको सहकारी देशकै अग्रणी स्थानमा पुगेको भन्दै महिलालाई आर्थिक उपार्जनमा लाग्न आग्रह गरे ।
त्यसैगरी कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय समन्वय समितिका सभापति पार्वती रावलले राज्यले सहकारीलाई एक सहयात्रीको रुपमा स्वीकार गरेको भन्दै महिलालाई आर्थिकरुपमा बलियो हुुन आग्रह गरिन् । महिलाले विभिन्न बलिदानीका कारण अहिले महिलाहरु निर्णायक तहमा पुगेको भन्दै महिलाहरुले अवसर र चुनौती दुवैलाई आत्मसाथ गरेर अगाडि बढ्न सभापति रावलले आग्रह गरेकी छन् ।
कार्यक्रममा नेफ्कून सञ्चालक समिति सदस्य शान्ति अधिकारी, सल्लाहकार भगवती पौडेल, कल्याणी मित्र त्रिपाठीलगायतको सहभागिता रहेको थियो ।