देश/प्रदेश
पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई देऊ : नेकपा नेता ज्ञवाली
काठमाडौं, भदौं २१-
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए ।
रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा शनिबार गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भइसकेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टी अहिले सत्तामा छ । वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ । त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ ।’ साक्षात्कारमा नेता ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको सुनाए । तर, पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उनको भनाइ छ । उनले भने,‘सरकार जनतामा आधारित छ । पार्टी पनि जनआधारित हुन्छ । नेकपा जनआधारित कार्यकर्ता आधारित पार्टी हो । पार्टीभित्र एक व्यक्ति, एक प्रमुख जिम्मेवार दिनुपर्ने कुरा टेक्निकल जस्तो लाग्न सक्छ । तर, अब यसलाई लागू गर्नुपर्छ । अहिले त आवाज उठ्न थालिसकेको छ ।’
अहिले पनि पार्टीका नेता तथा कार्यकर्ताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे । उनले भने,‘अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटीको अध्यक्षको रुपमा कार्यरत छन् । अब त्यहाँ के होला ? त्यहाँको कामको मूल्यांकन कसले गर्ने ? त्यसैले यस्तो अवस्थामा राम्रो परीणाम आउँदैन ।’
उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे । उनले भने, ‘हामी चीन र रुसले जस्तो चलाउन सक्दैनौं । सरकार चलाउनको लागि प्रधानमन्त्रीको अत्यन्तै धेरै व्यस्तता हुन्छ । त्यसैले अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ । पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ । उहाँलाई सरकार चलाउनमा पार्टीभित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ ।’ पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाइ छ । ‘केन्द्र, प्रदेश र स्थानीय तहमा पनि एक व्यक्ति, एक प्रमुख जिम्मेवारी नियमलाई लागू गर्नुपर्छ ।’ उनले भने । ज्ञवालीले अब आउने स्थायी समिति र केन्द्रीय समितिको बैठकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्थाबारे निर्णायक छलफल हुने सुनाए । उनले थपे,‘यस विषयमा सचिवालय बैठकको प्रस्ताव हेर्न बाँकी छ ।’