चितवन विशेष
कांग्रेस चितवनले सुरु गर्यो समायोजन

चितवन, भदौं १७-
केन्द्रको निर्देशन अनुसार नेपाली कांंग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम सुरु गरेको छ । सङ्गठन संरचनाअन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम सकिएको छ ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार पार्टीको क्षेत्र नं– १ मा राजु सिलवाल, क्षेत्र नं–२ मा भरत लामिछाने र क्षेत्र नं– ३ मा सरिता केसी चयन भएका छन् । यसअघि जिल्लामा पाँच निर्वाचन क्षेत्र रहेको थियो । त्यतिबेला निर्वाचित क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरु समायोजनका क्रममा आफ्नो क्षेत्रअनुसार स्वतः समितिमा रहने व्यवस्था रहेको छ ।
सभापति श्रेष्ठका अनुसार ६ वटै प्रदेश कार्यसमिति निर्माणका लागि भदौ १८ , १९ र २० गते क्षेत्रीय समितिको भेला डाकिएको छ । त्यसलगत्तै भरतपुर महानगरपालिका, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको समायोजनको काम सुरु हुने उनले जानकारी दिए ।
जिल्लाका तीन नगरपालिका माडी, रत्ननगर र खैरहनी बाहेक अन्य सबै तहमा समायोजन गर्नुपर्ने हुन्छ । असोज महीनाभित्रमा दुई वा त्यो भन्दा बढी वडा समायोजन भएका वडाको नेतृत्व चयन गर्ने काम गरिने जनाइएको छ । चितवनमा समायोजनको लागि केन्द्रीय प्रतिनिधिका रुपमा डेमोक्रय्याटिक लयर्स एशोसियशन (डीएलए) का जिल्ला अध्यक्ष विष्णु अर्याललाई तोकिएको छ । निर्वाचनको समयमा पाँचवटा क्षेत्रलाई तीनवटा क्षेत्रमा समायोजन गरिएसंँगै त्यसअघि बनेको नेपाली कांग्रेसको समितिहरुलाई समायोजन गरिएको हो । रासस