चितवन विशेष

भयावह बन्दै बालबालिकामा क्यान्सर: १९ वर्षमा आठ गुना वृद्धि

Banner

चितवन, भदौं १७

विगत १९ वर्षमा क्यान्सर लागेका बालबालिकाको संख्या आठ गुनाले वृद्धि भएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको तथ्यांकले क्यान्सर लागेका बालबालिकाको संख्या भयाबह बन्दै गएको देखाएको हो ।

क्यान्सरका बिरामी बढेसँगै क्यान्सर अस्पतालले पनि उपचारका लागि आवश्यक साधनस्रोतको व्यवस्था गरेको छ । क्यान्सर अस्पतालका निर्देशक विजयचन्द्र आचार्यले पछिल्ला दिनमा बालबालिकाकै उपचारको लागि करोडौं रुपैयाँ लगानी गरिरहेको बताए । उनले भने, ‘बालबालिकाको उपचारका लागि क्याबिनसहितको ३० बेडको व्यवस्था गरेर अन्य अस्पतालको भन्दा उत्कृष्ट सेवा दिइरहेका छौं ।’ बिरामी हेरबिचार गर्ने मानिस नभएर वा अन्य पारिवारिक कारणले गर्दा कतिपयले उपचारलाई बीचमै छोडनुपरे पनि आर्थिक अभावले भने समस्यामा पर्ने अवस्था नभएको उनले बताए । उनले १५ वर्ष मुनिको बालबालिकाको लागि निःशुल्क उपचार गरिँदै आएको जानकारी दिए ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा सन् १९९९ मा ५० जना बालबालिका क्यान्सर रोगी थिए । २०१६ मा यो सङख्या बढेर १०४ पुगेको थियो । बालबालिकाको क्यान्सर रोग विशेषज्ञ निभा तिवारीले नारायणी अनलाइनलाई जनाएअनुसार सन् २०१७ मा यो संख्या बढेर २४२ जना पुगेकोमा सन् २०१८ सम्ममा यो संख्या बढेर ४०० पुगेको छ ।  हरेक वर्ष क्यान्सर लागेका बालबालिकाको तथ्यांकमा वृद्धि भइरहेको देखिन्छ । भरतपुर क्यान्सर अस्पताल पुग्ने बालबालिकामा धेरैजसोलाई रक्त क्यान्सर भएको पाइएको बाल क्यान्सर विशेषज्ञ तिवारी बताउँछिन् । खाद्य वस्तुमा मिसावट बढ्दै जानु तथा वंशानुगत कारणले नै क्यान्सर बढ्दै गएको उनले बताइन् । चितवनमा उपचारका लागि आउने बिरामीमध्ये धेरै तराईका जिल्लाको भएको उनले बताइन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार प्रत्येक वर्ष विश्वमा तीन लाख बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको छ । विकसित मुलुकमा भन्दा नेपाल जस्ता न्यून आयस्तर भएका मुलुकहरुमा चार गुणा बढी बालबालिकाको ज्यान क्यान्सरबाट जान्छ । डा. तिवारीले सरकारले १५ वर्ष मुनिका बालबालिकामा हुने क्यान्सरको उपचारका लागि दिने गरेको एक लाख रुपैयाँले पनि उनीहरुले राहत पुग्ने गरेको छ । बयस्क व्यक्तिको लागि त्यो सहयोग एउटै औषधि किन्नमा खर्च हुने भए पनि बालबालिकाको लागि भने धेरै नै राहत हुने उनले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>