मनोरञ्जन
गैँडाकोटमा भएको तीज गीत प्रतियोगितामा ज्योति टोल पहिलो

गैँडाकोट, भदौं १५-
हिन्दू नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर गैँडाकोटको रेडियो संकेतले गरेको वृहत् खुला तीज गीत प्रतियोगितामा ज्योति टोल समूह पहिलो भएको छ ।
१७ टिमको सहभागिता रहेको प्रतियोगितामा शुभ टोल महिला समूह गैँडाकोट–१ दोस्रो र मनकामना आमा समूह गैँडाकोट–२ तेस्रो भएका छन् । कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पैडेलले स्थानीयस्तरबाट कला संस्कृति र परम्पराको निरन्तरता र संरक्षणका लागि रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कँडेलले भड्किलो बन्दै गइरहेको तीज पर्व संरक्षणमा महिला दिदीबहिनीको भूमिका रहने बताउँदै सचेत बन्न आग्रह गरिन् ।
कार्यलयसँगै रहेको होटल द नारायणी प्रालिको प्राङ्गणमा सञ्चालन गरिने कार्यक्रममा ब्रज एण्ड ब्रेल प्रालि गैंडाकोट–६ मुख्य प्रायोजकको रुपमा रहेको थियो । नारायणगढबाट सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रायोजक, गोर्खा ब्रुअरी प्रालि, कालिका सटर ग्रिल उद्योग तथा सरस्वती जालि तथा ग्याबिङ उद्योग गैँडाकोट–१६ हर्कपुर सहप्रायोजकका रपमा रहेका छन् । अन्य संघ संस्थाहरुले पनि कार्यक्रम सञ्चालनका लागि सहयोग प्रदान गरेका थिए । सहयोगी संस्थालाई कार्यक्रमको दिन सम्मान गरिएको थियो । रेडियो संकेतका अध्यक्ष चिरञ्जिवि श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

























