चितवन विशेष
सौराहामा भवन निर्माण मापदण्ड: भवन र रंगमा एकरुपता हुनुपर्ने

चितवन, भदौं १२-
रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रंगमा एकरुपता ल्याउने भएको छ ।
सौराहाको पर्यटन विकासको लागि नगरपालिकाले रचनात्मक कामको सुरुवात गरेको भन्दै व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् । सौराहाको प्रकृति सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रंगमा एकरुपता ल्याउन लागेको हो । ६ महिनाअघि लागू गरिएको मापदण्डमा साढे दुई तला भन्दा माथि निर्माण गर्न नपाउने र सबै भवनहरुमा वातावरणमैत्री रंग लगाउनुपर्ने अनिवार्य गरिएको मेयर नारायण वनले बताए । ‘यो व्यवसायीलाई समस्यामा पार्न गरिएको काम होइन’ उनले भने, ‘सौराहालाई आकर्षक बनाउन सुरु गरिएको अभियान हो ।’
भवन निर्माण मापदण्ड कार्यान्वयनको लागि नगरपालिकाले बिहीबार सौराहाका व्यवसायीसँग छलफल गरेको छ । सो कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेशसभा सांसद कृष्णप्रसाद खनालको समेत सहभागिता रहेको थियो । सौराहामा करिब १२० वटा होटल र ८० वटा रेष्टुरेष्ट रहेका छन् । नगरपालिकाले होटल सञ्चालनको लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुल्ला क्षेत्रसमेत निर्धारण गरी १ देखि २ कठ्ठामा भवन बनाउँदा ६० प्रतिशत खुला क्षेत्र, २ देखि ४ कठ्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुला क्षेत्र र ४ कठ्ठा माथि भवन बनाउँदा ४० प्रतिशत खुला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुरेण्टको हकमा जग्गाको क्षेत्रफल ६ घुरदेखि एक कठ्ठासम्म ६० प्रतिशत खुला क्षेत्र र १ कठ्ठा भन्दा माथि ५० प्रतिशत खुला क्षेत्र हुनुपर्ने छ । कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले निर्माण भइसकेका घरको विषयमा विज्ञ समूह बनाएर निकास निकाल्नुपर्ने बताए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले सौराहालाई जोगाउन नगरपालिकाले नविनतम कामको सुरुवात गरेको भन्दै व्यवसायीले साथ दिनुपर्ने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडी, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल, एसपी दानबहादुर मल्ल, वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, होटल संघ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार विष्ट, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, डीएसपी भाबेस रिमाल, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, व्यवसायी धु्रव गिरी, सुवासचन्द्र गौतम, गिरिधारी चौधरी, टीका गिरीलगायतले मन्तव्य राखेका थिए । मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता राजेन्द्र हमालले सहजीकरण गरेका थिए ।
























