चितवन विशेष
नेपालमा चट्याङको पीडा: सात वर्षमा ८४१ को मृत्यु

केदार शर्मा
चितवन, भदौ ११-
नेपालमा हरेक वर्ष चट्याङ्बाट धेरै धनजनको क्षति हुने गरेको छ ।
गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकले चट्याङबाट धेरै धनजनको क्षति हुने गरेको देखाएको हो । यो प्रकोपबाट मानिसका आँखामा असर गर्नुका साथै ठूलो आवाज आउने हुँदा कानको जाली फुट्ने समस्या हुन्छ । त्यस्तै घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जीवजन्तु मर्ने चट्याङबाट हुने मुख्यमुख्य क्षति हुन् ।
गत चैत ३० गते तनहुँको शुक्लागण्डकी–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्रीको चट्याङमा परी मृत्यु भयो । त्यसको तीन दिनअघि अर्थात् चैत २७ गते कास्कीको रुपा गाउँपालिकामा चट्याङ लागेर एकै घरका तीन जना घाइते बने । त्यसको ठीक अघिल्लो दिन अछामको पञ्चदेवल विनायक नगरपालिकमा चट्याङका कारण एकजनाले ज्यान गुमाए भने १६ जना घाइते बने । यी तीन घटना पछिल्लो समय घटेका र प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले आज भरतपुरमा उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्र चट्याङका ८ घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
यता मकवानपुरमा पनि बर्सेनि चट्याङको त्रास हुने गरेको छ । सामान्य वर्षा हुँदा होस् या चट्याङका कारण बर्सेनि ज्यान गुमाउने र घाइतेको संख्या वृद्धि हुँदै गएको छ । मकवानपुर चट्याङका हिसाबले देशकै बढी जोखिमपूर्ण जिल्लाको रुपमा रहेको छ । मकवानपुरमा मात्रै पछिल्लो ७ वर्षको अवधिमा ७० जनाले ज्यान गुमाएको चट्याङ विद डा श्रीराम शर्माले बताए ।

भरतपुर महानगरपालिकाको सभाहलमा भएको ‘चट्याङ र यसका प्रभाव’ का विषयमा भएको तालिममा यस्तो तथ्याङ्क सार्वजनिक भएको छ । चट्याङ विद डा श्रीराम शर्माका अनुसार मकवानपुरपछि झापा, मोरङ र उदयपुर उच्च जोखिमका जिल्लामा रहेका छन् । पछिल्लो सात वर्षलाई हेर्दा नेपालमा चट्याङ लागेर ८४१ जनाले ज्यान गुमाएका छन् । नेपालमा वार्षिक सरदर १०० जनाले चट्याङ्को कारणले अकालमै ज्यान गुमाउने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार २०७५ शालमा ६८ जनाले ज्यान गुमाउँदा ४०० जना घाइते भएका छन् ।
अधिराज्य भरका ग्रामीण क्षेत्रमा चट्याङले मानवीय क्षति बढी हुने गरेको छ । यस्तै भौतिक र पशुपंक्षीको क्षति पनि हुने गरेको छ । चट्याङ लागेर दर्जनौं पशु चौपायको मृत्यु हुने गरेको भए पनि अधिकांशको घरमै चट्याङ पर्दा भौतिक क्षति समेत भएको प्रहरीले जनाएको छ ।आजबाट सुरु भएको चट्याङ र यसबाट बच्ने उपाय सम्बन्धी कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी लगायतले बोलेका थिए । प्राकृतिक प्रकोपका हिसाबले नेपाल जोखिमपूर्ण देश हो । हुन पनि प्रत्येक वर्ष हुने प्राकृतिक प्रकोपमा परी धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् । वर्षायामको सुरुवातसँगै नेपालीले सामना गर्ने अर्को विपत्ति चट्याङ देखिएको छ ।
























