चितवन विशेष

नारायणी कला मन्दिरले रोपाइँ जात्रा निकाल्ने

Banner

चितवन, भदौं ४–

यस वर्ष पनि नारायणी कला मन्दिर नारायणगढले रोपाइँ जात्रा निकाल्ने भएको छ । यही भदौं ६ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिनलाई रोपाइँ जात्राको रुपमा मनाउन लागेको हो ।

धान रोप्ने काम सकिएको खुसीयालीमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउने रोपाइँ जात्रा मनाउने प्रचलन छ । यो वर्ष पनि चितवनको नारायणी कला मन्दिरले भव्यताका साथ रोपाइँ जात्रा मनाउन लागेको आज (बुधबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

रोपाइँ सकेको उपलक्ष्यमा खुसीयाली मनाउँदै नाचगान गरेर यो पर्व मनाउने प्रचलन छ । यो जात्रामा धान रोपाइँमा धान रोपेझैं गरी नाच्ने र गाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिनलाई मुल दिन मानेर गाइजात्राबाट सुरु भएको यो जात्रा एकसाता सम्म चल्ने र कृष्ण अष्टमीको दिन विसर्जन गर्ने परम्परा छ ।

सुरुवाती समयमा नेवार समुदायले निकै धुमाधामका साथ मनाउने रोपाइँ जात्रा पछिल्लो समयमा नेवार समुदायलगायत अन्य समुदायको पनि बाक्लो उपस्थिति हुने गरेको नारायणी कला मन्दिरले जानकारी दिएको छ । नाटकीय शैलीमा प्रदर्शन गर्दै ठट्टा रमाइलो गर्दै मनोरञ्जन गर्ने अवसरको रुपमा रोपाइँ जात्रा मनाउने गरिएको नारायणी कला मन्दिरका कार्यवाहक अध्यक्ष उद्धव जोशीले जानकारी दिए ।

दैनिक जीवनमा भोग्दै आएको चिन्ता, असन्तोष र पीडालाई हस्यौली र ठट्यौलीका रुपमा पोख्न पाइने हुँदा रोपाइँ जात्राले जीवनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास रहेको रोपाइँ जात्रा संयोजक सुविर श्रेष्ठले जानकारी दिए ।

यस पटक नारायणी कला मन्दिरबाट निस्किने रोपाइँ जात्रा, बालकुमारी स्कुल चोक, मिलन रोड, शहिदचोक, पुलचोक, मेनरोड, लिलाचोक, दियालो रोड, नारायणगढ बसपार्क, गणेश चोक, प्रगतीपथ हुँदै बालकुमारी स्कुल चोक भएर नारायणी कला मन्दिर पुगेर समापन हुने संयोजक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रोपाइ जात्रा दिउँसो ३ बजे निकालिने छ । त्यस अघि विहान सर्वसाधरणलाई जात्रामा सहभागी हुन आह्वान गर्नका लागि हो पाँचो हो निकालिने नारायणी कला मन्दिरले जानकारी दिएको छ । नारायणी कला मन्दिरले २०५४ सालदेखि नियमित रुपमा रोपाइ जात्रा निकाल्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>