मकवानपुर
बाढी पहिरो पीडितलाई राहत रकम उपलब्ध गराउने प्रदेश ३ सरकारको निर्णय

हेटौंडा, साउन २१-
३ नम्बर प्रदेश विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुबानलगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
समितिका अध्यक्ष ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुबानमा परेर विस्थापित भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । अबिरल वर्षका कारण आएको बाढी, पहिरो, डुबानलगायतको घटनामा परी खाद्यान्न, लत्ताकपडालगायत घर पूर्णरुपमा नष्ट भएका वा पूर्ण नष्ट नभए तापनि सम्भावित खतराबाट जोगिन अन्यत्र सर्नुपर्ने वा विस्थापित भई सुरक्षित स्थानमा नयाँ आश्रय स्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रति परिवार एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन समेत दिएको छ ।
त्यस्तै बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुर जिल्लाका बाढी पहिरो डुबानलगायत घटनाबाट अति प्रभावित स्थानीय तहहरु पहिचान गरी ती स्थानीय तहहरुमा भएको खानेपानी, सिंचाई, सडक, विद्यालयलगायतको भौतिक संरचनाको क्षति विवरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति मार्फत माग गर्ने समेत निर्णय गरेको छ ।
साथै जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुननिर्माणका लागि अधिकतम् ५० लाखसम्म स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको कार्यकारी समितिका अध्यक्ष ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । बैठकले विपद्को सामनामा गर्न सबै निकाय सामाजिक संघसंस्था, उद्योगी व्यपारी एवम् सर्वसाधारणलाई सहयोगका लागि सार्वजनिक आव्हान गर्ने निर्णयसमेत गरेको मन्त्री जमकट्टेलले जानकारी दिएका छन् ।