एथलेटिक्स

मार्सल आर्टको प्रदेश नम्बर ३ स्तरीय सेमिनार चितवनमा सुरु

Banner

चितवन,साउन २१-

जापानमा प्रख्यात रहेको मार्सल आर्ट विधाको ‘तोयामा रियु एआईडो शिवु’ खेलको प्रदेश नम्बर ३ स्तरीय सेमिनार चितवनमा सुरु भएको छ । अल मार्सल आर्ट एकेडेमी भरतपुरका आयोजनामा मंगलबारदेखि चार दिनसम्म चल्ले खेलको उद्घाटन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले गरे । मार्सल आर्ट सम्बन्धी खेल आत्मरक्षासँगै सामुदायिक सुरक्षाको लागि प्रयोग गरिनुपर्ने मल्लले बताए । मार्सल आर्ट भनेको समाजको अनुशासित खेल भएकाले यस खेलमा लाग्ने युवाहरु कूलतमा समेत नफस्ने उल्लेख गर्दै युवाहरुलाई खेलमा प्रोत्साहन गर्नका लागि मल्लले आग्रह गरे ।

सो कार्यक्रममा तोयामा रियु एआईडो शिवुका प्रमुख प्रशिक्षक एवम् नेपाल तोयामा रियु एआईडो शिवुका अध्यक्ष नविन आचार्यले यस खेल तरबारको कला सम्बन्धी भएको बताए । जापानको सामुराई (लडाकु)ले सिकेको युद्धकला सम्बन्धी खेल पछिल्लो समय विश्वभरी लोकप्रिय हुँदै गइरहेको आचार्यको भनाइ छ । यो खेलमा दुई पक्षबीच लडाई गर्ने नभइ युद्ध कौशलता देखाउनका लागि काता प्रदर्शन गरिने आचार्यले बताए । जापानमा लुटेराहरुले सताएपछि लुटेरासँग प्रतिकार गर्नका लागि सात जना गाउँले युवा मिलेर सुरु गरेको युद्ध कौशलता नै पछि गएर तोयामा रियु एआईडो शिवुको नामले विश्वमा चर्चित भएको आचार्यको भनाइ छ ।

यस खेलको धेरै विधा भएपनि तोयामा रियु शैनिक विद्यालयबाट विश्वमा प्रचार गरिएको आचार्यले बताए । नेपालमा सन् २०११ मा तोयामा रियु एआईडो शिवु भित्रिएको उल्लेख गर्दै आचार्यले यसको प्रशिक्षण देशव्यापी बनाउने उद्धेश्यले प्रदेश नम्बर ३ स्तरीय कार्यक्रम चितवनमा गरिएको बताए । कार्यक्रममा अल मार्सल आर्ट एकेडेमी भरतपुरका संरक्षक ईश्वर सापकोटाले यो खेल व्यक्ति, समुदाय र राष्ट्रका लागि खेलिनुपर्ने बताए । मार्सल आर्ट सम्बन्धी खेललाई व्यक्तिको आत्मरक्षा र राष्ट्रको रक्षाका लागि प्रयोग गर्नुपर्ने उल्लेख गर्दै सापकोटाले समाजमा भएका विकृति विरुद्ध खेलाडीहरु लाग्नुपर्ने बताए ।

खेलाडीहरुको कौशलता वृद्धिका लागि आफूहरुले चितवनमा तोयामा रियु एआईडो शिवु खेलको सुरुआत गरेको अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए । भरतपुरको कबर्ड हलमा चार दिनसम्म खेलाडीहरुलाई तोयामा रियु एआईडो शिवु सम्बन्धी बन्द प्रशिक्षण गरिने गुरुङले बताए । सो कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल, चितवन जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य एवम् प्रवक्ता रामहरि सेढाईँलगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>