मकवानपुर
१४ किलो गाजासहित तीन जना भरिया मकवानपुरमा पक्राउ

हेटौंडा, साउन २०-
मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित तीन जना भरियालाई पक्राउ गरेको छ ।
अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका–८ देवकोटका १९ वर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् । हेटौंडा–११ थानाभर्याङमा चेकजाँचका क्रममा मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९०० ग्राम गाँजा बरामद भएको थियो ।
प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले जाँच गर्दा अटोको सिट काटेर त्यसमा गाजाको प्याकेट राखेको र छतमा समेत पोका बनाइ लुकाएर ६ वटा पोकामा गाजा लुकाएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।
यस्तै, प्रहरीले वैशाख ६ गते भारतीय कारमा बरामद गरेको ४८ किलो ८०० ग्राम गाजाका मुख्य अभियुक्त भारत बिहान पटनाका ३४ वर्षीय प्रवल अग्निबेशलाई पनि चितवन पुलचोकबाट पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले यसअघि कार चालक बिहार बैलाशीका ३२ वर्षीय अमरजित सिंहलाई पक्राउ गरिसकेको थियो ।