चितवन विशेष
साउने झरीमा रुझ्दै देवघाटधाममा स्नान गर्नेको घुइँचो (तस्विर/भिडियो )

चितवन,साउन १९-
पवित्र तीर्थस्थल देवघाट धाममा साउनको तेस्रो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने तीर्थालु ठूलो सङ्ख्यामा रहेका छन् । साउन सोमबारलाई हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउने गरेका छन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । पाँचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड लागेको छ ।
तीन जिल्लाको सङ्गमस्थल देवघाट धाममा साउनको सबै सोमबार भक्तजन आउने गर्दछन् । देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन यहाँ आउने गर्दछन् । पहेँलो बस्त्र लगाएर खाली खुट्टामा समेत बोलबम भन्दै भक्तजन आएका छन् । तस्विरमा हेर्नुहोस्ः