चितवन विशेष
रत्ननगरमा १२२ जनाले गरे रक्तदान

रत्ननगर, साउन १९-
चितवनको रत्ननगरमा आयोजना गरिएको कार्यक्रममा १२२ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगर मुख्य आयोजक तथा विभिन्न संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा ७ जना महिला, १२ जना सशस्त्र प्रहरी र ६ जना जनपथ प्रहरीसहित १२२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा उपशाखा सचिव रामचन्द्र पौडेलले जानकारी दिए । रत्ननगरका मेयर नारायण वनले आर्थिक उपसमितिका संयोजक दीपक गिरी र उपशाखा सदस्य अनु गौतमलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा मेयर वनले मानविय जीवनसँग जोडिएको रगत संकलनको काममा नगरपालिका हरदम सहयोग गर्न तयार गरेको बताए । नगरबासीको स्वास्थ्य जोगाउने कुरामा नगरपालिका अत्यन्तै गम्भीर रहेको भन्दै उनले यसका लागि रत्ननगर अस्पतालमा सेवा वृद्धि, ज्येष्ठ नागरिकको निःशुल्क उपचार, औषधिको सहज उपलब्धताको क्षेत्रका काम भइरहेको बताए ।
उपशाखाका सभापति गोविन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने, उपशाखाका संस्थापक अध्यक्ष हरिशरण पाठक, चितवन उद्योग संघ रत्ननगर इकाई अध्यक्ष गजेन्द्र अधिकारी, रत्ननगर जेसीजका अध्यक्ष सुवास पोखरेललगायतले मन्तव्य राखेका थिए । आयोजक संस्था उज्वल महिला विकास साकोसकी अध्यक्ष ऋतु गिरीले सञ्चालन गरेको सो कार्यक्रममा लायन्स क्लबका सुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको अन्य आयोजकमा उज्वल महिला विकास साकोस, युनिक बचत साकोस, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति टिकौली, रत्ननगर किराना व्यवसायी संघ, भवन निर्माण व्यवसायी संघ र नेवाःमैचु पुचःरत्ननगर रहेका थिए ।