राजनीति
संसदीय समितिमा भक्कानिए नेपाल र भट्टराई

काठमाडौँ साउन १९-
नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा भक्कानिएर रोएका छन् । आइतवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मन्त्री भट्टराईको स्वागतका लागि एक कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए । २०४३ सालमा नेता नेपालले आफूलाई बचाएको प्रसंग उल्लेख गर्दै भट्टराई भक्कानिएका हुन् ।
भट्टराईले भने, ‘२०४३ सालमा पंचायत निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीले लिएपछि म त्यही अनुसार दिनरात नभनी खटिएँ । त्यसपछि एक्कासी बिरामी भएँछु । टिचिङ अस्पतालका डाक्टरहरूले मेरो बाँच्ने आशा नरहेको बताइसकेका थिए । त्यतिबेलै उहाँ (माधवकुमार नेपाल) मलाई भेट्न आए । उनको एक स्पर्शले मलाई बाँच्ने शक्ति प्राप्त भएको थियो ‘।
भट्टराईले यसो भनिरहँदा नेता नेपाल पनि सुँक्क सुँक्क गरिरहेका थिए । भट्टराईले पटक पटक माधवकुमार नेपाल आफ्नो अविभावक भएको दोहोर्याइरहे ।
बैठकमा नेता नेपालले भट्टराईलाई आफूले सधैं माया गरिरहेको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।