चितवन विशेष
चितवनमा यस्तो ठाउँः जहाँ सित्तैमा कपडा पाइन्छ..

चितवन, साउन १७–
पछिल्लो समयमा राजधानीलगायत देशका विभिन्न ठाउँमा कपडा बैंक सञ्चालनमा आइरहेका छन् ।
चितवनको सौराहामा पनि कपडा बैँक स्थपना भएको छ । सामाजिक जागरण युवा समूह सौरहाका युवाहरुको सक्रियतामा यही साउन १५ गतदेखी सौराहा चोकमा यो बैंक सञ्चालनमा आएको संस्थाकी अध्यक्ष रिजा जोशीले जानकारी दिइन् । विपन्न र विपद्मा परेका व्यक्तिलाई कपडाको आवश्यकतालाई महशुस गर्दै यो बैंक सञ्चालन गरिएको उनले बताइन् ।
आफूले लगाएका पुराना तथा पुनःप्रयोग गर्न मिल्ने खालका कपडा सो बैंकमा सहयोग गर्न सकिने उनले बताइन् । ‘आफूले लगाइसकेको तर अझै पनि प्रयोग गर्न मिल्ने खालको कपडा छन् भने हामीले सुरू गरेको कपडा बैंकमा ल्याएर जम्मा गर्न सक्नुहुन्छ’, उनले भनिन्, ‘किनकी कतिपयको घरमा साइज नमिलेर पनि कपडा त्यत्तिकै बसेको हुन्छ, फाल्न पनि मन लाग्दैन । जोकसैलाई सहजै दिन पनि अप्ठ्यारो भएमा अब यहाँ ल्याएर राखिदिए आवश्यक पर्नेले सित्तैमा लैजान सक्छन् ।’
सामाजिक सञ्जालमा फोटोहरु देखेर कपडा बोकर ल्याइदिइनेको संख्या बढिरहेको उनले बताइन् । त्यस्तै कपडा आवस्यक हुनेहरुले खुशी हुँदै लगिरहेको उनले बताइन् । सुरुसुरुमा एक जोर लुगा लग्न दिइरहेको र केही समयपछि आवस्यक परेको जति लान सकिने उनले बताइन् ।
यस बैंक संचालन गर्न सुमन थापाले आफ्नो हजुरबुवा, हजुरआमाको स्मृतिमा सहयोग गरेको अध्यक्ष जोशीले जानकारी दिइन् । यस्तै यस बैंक स्थापना गर्नमा अभियन्ता नेत्र गुरुङको पनि सहयोग रहेको उनले बताइन् ।
भारतको एक कपडा बैंकको भाइरल फोटो देखेर आफुहरु प्रभावित भएको र राजधानीलगायत अन्य ठाउँमा पनि खुलिसकेकाले सञ्चालन गरिएको जोशीको भनाइ छ ।