चितवन विशेष
लिटिल स्टार स्कूलमा विपद् व्यवस्थापनबारे प्रदर्शनी
चितवन,साउन १६-
भरतपुर ७ मा रहेको लिटिल स्टार अंग्रेजी आवासीय माविले विपद् व्यवस्थापनबारे प्रशिक्षण दिएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयसँगको सहकार्यमा विपद् व्यवस्थापनबारे प्रशिक्षण दिएको हो । स्काउटको विश्व स्काफ दिवसको अवसार पारेर विद्यालयले बिहीबार विपद्को जोखिम तथा न्यूनीकरणको विषयमा प्रदर्शनी एवम् प्रशिक्षण दिइएको विद्यालयका शिक्षक नेत्रबन्धु पोखरेलले जानकारी दिए । उनका अनुसार विद्यार्थी र अभिभावकलाई विपदको जोखिम र क्षतिबारे जानकारी गराउँदै सावधानीको बारेमा जानकारी गराउन कार्यक्रम गरिएको हो । समुदायमा विभिन्न खालका घटनाहरु हुँदा गतल तरिका अपनाउने प्रवृत्तिले क्षति बढ्दै गएकाले यसको न्यूनीकरणका लागि प्रशिक्षण राखिएको उनले बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले वडा स्तरीय विपद् व्यवस्थान समिति गठन गरेर विपद् न्यूनीकरणको काम थालिएको बताए । सो समितिमा वडाका सम्पूर्ण सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको उल्लेख गर्दै काफ्लेले विपद् व्यवस्थापनको तालिम सबैलाई आवश्यक रहेको बताए ।
तालिमले जोखिम न्यूनीकरणका विषयमा महत्वपूर्ण योगदान पुग्ने काफ्लेले बताए । समुदायका व्यक्तिलाई तालिम दिएर उनीहरुलाई उद्धार कार्यमा खटाउन सकेको खण्डमा क्षति न्यूनीकरण हुने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित बिष्टले जानकारी दिए ।
लिटिल स्टार आवासीय माविमा भएको कार्यक्रममा शिक्षालयबाट आएको टोलीले आगलागी, सर्पदंस, चोटपटक, सवारी साधन दुर्घटना तथा हावाहुरीबाट हुने क्षति र त्यसबाट जोगिने उपायबारे प्रदर्शनी गर्दै प्रशिक्षण समेत दिएको हो । विद्यालयले विद्यालयहरुका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको अवस्थामा विपद्को जोखिम र यसको न्यूनीकरणका उपायबारे प्रदर्शनी र प्रशिक्षण दिइएको हो ।
नयाँ व्यवस्थापनमा सञ्चालन भइरहेको विद्यालयमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्राचार्य सुमन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउटका जिल्ला तालिम आयुक्त टेकबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए ।