चितवन विशेष
जस्तैजस्ताको शहरमा परिणत हुँदै भरतपुर (फोटो फिचर )

नारायणी अनलाइन डेस्क
चितवन, साउन १६
चितवनको भरतपुर शहर पछिल्लो समयमा जस्तै जस्ताको रंगीबिरंगी शहर बन्दै गएको छ ।
ढलान गरेका अग्लो घरमा पनि माथि ट्रस्ट (टिनको छाना) राख्ने क्रम बढ्दै गएको छ । कसैले घरको छतमा पानी चुहिएर वा छत कमजोर भएकोले जस्ता लगाउँदै छन् भने कतिपयले अरुको देखासिकी गर्न पनि छतमाथि ट्रस्ट ओडाउँदै छन् । तर, विज्ञहरु भने ट्रस्ट नराख्दा पनि घर कमजोर नहुने बताउँछन् ।
लफ्टी डेभलपर्स प्रालिका सञ्चालक सिभिल इञ्जिनियर शिवप्रसाद चापागाईँले चितवनमा ट्रस्ट राख्ने क्रम फेसनको रुपमा भित्रिएको बताए । उनले भने, ‘प्लेनबाट हेर्दा पनि भरतपुरमा पूरै ट्रस्ट देखिन्छ । कतिपयले घर निर्माणको क्रममा नै ट्रस्ट राख्ने गर्छन् । खुल्ला ट्रस्टलाई महानगरपालिकामा नक्सा पास पनि गराउनु नपर्ने भएकोले पनि बढी स्पेसको लागि मानिसहरुले घरमा ट्रस्ट राख्न थालेका छन् ।’ उनले एक हजार स्क्वाएर फिटको घरमा ट्रस्ट राख्न सातदेखि आठ लाखसम्म लाग्ने बताए । छतमा जस्ता लगाउँदा बढी शीतल हुने र सानातिना भोजभतेरका कार्यक्रमहरु पनि गर्न सकिने उनले जानकारी दिए । इञ्जिनियर चापागाईँले तराईका अन्य शहरमा भन्दा पनि चितवनमा बढी यस्तो प्रवृत्ति बढी देखिएको विचार राखे ।
आम सर्वसाधारणहरु भने गर्मीको चर्काे घाम र पानीले घरको छत कमजोर बनाउँदै लैजाने दाबी गर्छन् । बसेनी मृगकुञ्ज टोलका रेशम भन्तनाले गर्मीले र पानीले छत कमजोर हुँदै जाने भएकोले घरमा ट्रस्ट राखिएको बताए । उनले भने, ‘माथि ट्रस्ट ओढाउँदा घर शीतल पनि हुन्छ भने छतमा सामानहरु पनि राख्न सजिलो हुन्छ ।’ जुन् उद्देश्यले ट्रस्ट राखिए पनि अहिले घरको छतमा जस्ता लगाउने भरतपुरको बेग्लै विशेषता र पहिचान नै बनेको छ ।
छतमा जस्ता ओडाउने क्रम बढेपछि यससम्बन्धी काम गर्ने ग्रिल र सटर पसललाई पनि काममा भ्याइनभ्याइ हुने गरेको छ । भरतपुर महानगरपालिका–११ गणेशस्थानमा पसल गरेर ग्रील तथा ट्रस्टको काम गर्दै आएका जुगेडीका ध्रुव गिरीले अहिले ट्रस्ट राख्ने कामले गर्दा आफूहरुलाई काममा भ्याइनभ्याइ भएको नारायणी अनलाइनलाई जानकारी दिए । कसैको घर चुहिएर त कसैले शीतलको लागि ट्रस्ट राख्दा राख्दै अहिले जस्ताले भरतपुरको मुहार नै फेरिएको छ ।