देश/प्रदेश

तराईका डुबान प्रभावितलाई राहत पुगेन: मुख्यमन्त्री राउत

Banner

काठमाडौं, साउन १४-

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन् ।

मंगलबार रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा मुख्यमन्त्री राउतले भने, ‘२ नम्बर प्रदेश बाढी र डुबानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझै पनि राहत पुगेको छैन ।’ प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पु¥याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पु¥याउने काममा लागिरहेको राउतले सुनाए । उनले भने, ‘अहिले पनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन । तर राहत धेरैलाई पुगेको छैन ।’

साक्षात्कारमा उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्धलगायतका कामहरु नगरेको कारण बाढी तथा डुबानको समस्या आएको स्पष्ट पारे । उनले भने, ‘लालबकैया, वागमति, रातु, कमला र त्रियुगा नदी आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धको कुनै ममर्तसम्भार भएको छैन । एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन । अहिले यो समस्या आएको हो ।’

प्रधानमन्त्री केपीशर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको उनले सुनाए । उनले भने, ‘मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरेँ, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर दुई नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिनुभएको थियो । हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु । उहाँले पनि नदी, तटबन्धलगायतका विषयमा दिर्घकालिन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिनुभएको छ ।’

राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भीर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले सुनाए । उनले भने, ‘सिंगो प्रदेशका लागि पर्दा पनि यो विपत्ति सामना गर्ने हामीसँग क्षमता छैन । अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ । टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ ।’ मुख्यमन्त्री राउतले बाढी र डुबानबाट तराईमा धेरै ठूलो क्षति पुगेको सुनाए । उनले भने,‘ क्षति सानो छैन । हजारौं बिघा सिँचाइ योग्य जमिन बालुवाले पुरिएको छ । अहिले ती खेतीयोग्य छैनन् ।’

चुरे दोहनका कारण अहिलेको समस्या आइपरेको उनको टिप्पणी छ । उनले भने, ‘लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन् भएको छ । त्यसका कारण पहिरो गएको छ । अब पनि दिर्घकालिन योजना बनाएर समस्याको हल गर्न सकेनौं भने स्थिति भयावह हुन्छ । बरु, चुरे दोहन रोक्ने प्रोजेक्टलाई के नाम दिने हो त्यो बरु सोच्नुपर्छ ।’ तर, यसको लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ ।  भर्खरै एक करोड २७ लाख बराबरको खाद्यान्न आफ्नै उपस्थितिमा रौतहटमा वितरण गरिएको पनि उनले जानकारी गराए । अन्य जिल्लामा पनि खाद्यान्न वितरणको काम भइरहेको राउतले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>