चितवन विशेष

नारायणगढ– मुग्लिन सडकमा पुल बनाउन बाटो खुल्यो, १५ दिनभित्र ठेक्काको सूचना

Banner

चितवन, साउन १३-

सरकारले चितवनको नारायणगढ–मुग्लिन खण्डमा पुल बनाउन बाटो खोलिदिएको छ । डबल लेनमा पुल अत्यावश्यक देखिएको भन्दै मन्त्रिपरिषद्ले ठेक्कामार्फत डिजाइन र निर्माणको काम अघि बढाउन स्वीकृति दिएको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गर्ने गरी ठेक्का गर्न स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । कानुनमा डिजाइन एन्ड बिल्डका सम्बन्धमा स्पष्ट उल्लेख नभएको भन्दै सडक विभागअन्तर्गत पुल महाशाखाले मन्त्रिपरिषद्मा निर्णय गरिदिन पत्र पठाएको थियो । ‘कानुनमा वातावरणीय अध्ययन कहिले गर्ने, ठेक्का अघि कि पछि भन्ने थियो, सँगै गर्ने भन्ने स्पष्ट थिएन,’ पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘त्यसैले निर्णयका लागि मन्त्रिपरिषद् प्रस्ताव पठाएका थियौं, स्वीकृत भएर आएको छ ।’ यो खण्डमा १८ वटा पुल छन् । चार वटाको ठेक्का लागेर धमाधम निर्माण भइरहेको छ ।

थप १ सहित १५ वटा पुलको ठेक्का एकैसाथ गर्ने प्रमुख भट्टराईले बताए । ‘१५ दिनभित्र ठेक्काका लागि सूचना निकाल्नेछौं,’ उनले भने, ‘वातावरणीय अध्ययनसँगै डिजाइन एन्ड बिल्डको प्रक्रियाबाट ठेक्का गर्ने छौं ।’ नारायणगढ–मुग्लिन खण्डमा सडक विस्तार भएको वर्ष दिन बितिसक्दा पनि पुल नबन्दा समस्या छ । साँघुरा र जीर्ण पुलले दैनिक जाम र दुर्घटनाको जोखिम छ । ‘यी महत्त्वपूर्ण पुल भएकाले बजेटले समस्या नहोला,’ उनले भने, ‘लागत स्टिमेट निकालेर ठेक्का प्रक्रिया अघि बढाउने छौं ।’ यो खण्ड भएर दैनिक करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्छन् ।

लामो समयदेखि पुल निर्माण गर्ने भनिए पनि कहिले चिनियाँ विज्ञ नआएको, कहिले वातावरणीय अध्ययन नभएको जस्ता समस्याले काम अघि बढ्न सकेको थिएन । ‘अब ढिलाइ हुनेछैन,’ भट्टराईले भने, ‘ठेक्का लाग्नासाथ कामले तीव्रता पाउनेछ ।’ भौगोलिक बनावटले केही समस्या भए पनि चिनियाँ विज्ञ टोली आएर स्थलगत अवलोकन गरिसकेको पुल महाशाखाले जनाएको छ । यो सडक काठमाडौं जोड्ने लाइफलाइनका रूपमा परिचित छ । दैनिक उपभोग्य वस्तु प्रायः यही सडक भएर काठमाडौं भित्रिन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ठेक्का लागेका चारवटा पुलको निर्माण तीव्र रूपमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>