चितवन विशेष

रत्ननगरको नमुना सडक नाम मात्रकै नमुनाः लगानी धेरै, काम कमजोर

Banner

चितवन, साउन १०–

चितवनकै नमुनाको रुपमा सडक विस्तार गर्ने योजनासहित पूर्वपश्चिम राजमार्ग अन्र्तगत रत्ननगरमा सडक निर्माण काम सुरु भयो । श्रेष्ठ कन्ट्रक्सन प्रालिसंग २०७२ माघमा सडक निर्माण गर्न सम्झौता भएको थियो । १९ करोड ७० लाखमा रत्ननगरको लौरीघोलदेखी निपनीसम्म २ किलोमिटर तीन सय मिटर सडक फोर लेन बनाउने सम्झौता भएको हो । सम्झौता त भयो तर अझै सम्म निर्माण कार्य सकिएको छैन् भने निर्माण भएको मुख्य पिचनै एक वर्ष नबित्दै भत्किएर ठूला खाल्डाखुल्डी परेको छ ।

पटकपटक म्याद थप गरे पनि निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सन प्रालि र सडक डिभिजन कार्यालयको चरम लापरवाहीका कारण समस्या उत्पन्न भएको छ । सडक डिभिजन कार्यालयले दिएको डिजाईन अनुसारनै सडक निर्माण गरेको प्रालिको दावी छ । काम चित्त बुझ्दो नहुनु, समयमै काम नसक्ने लगायतको कारण देखाउँदै सडक डिभिजन कार्यालयले श्रेष्ठ कम्पनीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाईसकेको छ ।

श्रेष्ठ कम्पनीले मुख्य बाटो पिच गर्ने, बीचमा डिभाईडर बनाउने, टाँडी क्षेत्र र सौराहा चोक क्षेत्र सर्भिसलेनको साथै फुटपाथको काम गरे पनि काम भने अपुरो छ । सडकको उत्तरतर्फ भने लौरीघोलदेखी निपनीसम्मै सर्भिस लेन बनाईएको छ । तर दक्षिणतर्फ एक मिटर पनि छोएको छैन् । पिच भएको प्रमुख सडकको हालत एक वर्ष नबित्दै २ किलो मिटर क्षेत्रको धेरै ठाउँमा साना गाडीहरु डुव्ने खाल्डोनै परेको छ । सडकको दयनिय अवस्थाले अहिले स्थानीय जनप्रतिनिधीहरु आलोचनाको पात्र बन्न पुगेका छन् ।

सडकको लापरवाहीले बदनाम भईयोः नगर प्रमुख वन

रत्ननगर नगरपालिकाको मुल गेट अगाडीसहित धेरै ठाउँमा सडक बिग्रिदा नगर प्रमुख नारायण वनले आफुहरुले बदनाम खेप्नु परेको बताएका छन् । सडक डिभिजन कार्यालयले निर्माण कम्पनीसित एक्सन लिन नसक्दा यो सडक एक वर्षमै बिग्रिएको उल्लेख गर्दै कार्यालयसंग मेयर वनले आक्रोस समेत पोखेका छन् । सडक मर्मतका लागि रत्ननगर नगरपालिकाले सडक डिभिजन कार्यालयलाई विहीबार पत्राचार गरेको थियो ।

शुक्रबार सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले सडकको अनुगमन गरेको छ । अनुगमनका क्रममा मेयर वनले सडकका कारण जनप्रतिनिधीले बदनामी खेप्नु परेको आक्रोस पोख्दै प्राविधिकलाई एक साता भित्र बिग्रीएको सडक मर्मत गरिसक्न निर्देशन दिए । ‘सडक हाम्रो क्षेत्र भित्र पर्दैन, क्षेत्राधिकार भित्र हात हाले मुद्दा खेप्नुपर्छ, यो सामान्य नागरिकले बुझेका छन्’ प्रमुख वनले भने–‘आफ्नै अगाडीको बाटो बिग्रिएको हेर्न सक्दैनौ, मर्मतका लागि पहल गरेका छौं, सडकले अटेर गर्दा दुर्घटनाबाट बचाउन नगरले मर्मत गर्न बाध्य छ ।’ पानी परेको बेला हिलो हुने गरेको छ भने घाम लाग्दा भत्किएको सडकमा धुलो उड्दा यात्रु, यस क्षेत्रका नगरवासीमा समस्या उत्पन्न हुन थालेको छ । सडककै कारण प्रत्येक दिन जसको दुर्घटना भईरहेका छन् ।

उद्योग वाणिज्य संघको ध्यानाकर्षण

रत्ननगर उद्योग वाणिज्य संघले पूर्वपश्चिम राजमार्गको रत्ननगर क्षेत्रमा सडकको अवस्था दयनिय भएको प्रति सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । तत्काल सडक मर्मतका लागि संघले डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष राजाराम रेग्मी नेतृत्वको टोलीले सडक डिभिजन कार्यालयमा पुगि कार्यवहाक कार्यालय प्रमुख गीताञ्जली कोईरालालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सडक बिग्रदा ठूलो दुर्घटना हुने खतरा बढ्नुका साथै धुलाको कारण व्यवसायलाई प्रत्यक्ष असर गरेको भन्दै तत्काल मर्मत गर्न पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै इन्जिनियर कोईरालाले मर्मतको काम सुरु भईसकेको बताईन् । पूर्वपश्चिम राजमार्ग सडक मर्मतको काम भरतपुरबाट सुरु भएकाले रत्ननगर, पर्सा हुँदै लोथरसम्म मर्मत गरिने बताईन् । संघका अध्यक्ष राजाराम रेग्मीसहित उपाध्यक्षहरु भीमनारायण श्रेष्ठ, शंकर गिरी, सदस्यहरु उपेन्द्र आचार्य, पुरु खनाल डिभिजन कार्यालय पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>