चितवन विशेष
आजबाट इन्टरनेटमा १३ प्रतिशत मूल्य बढ्यो

चितवन, साउन १–
इन्टरनेट सेवा प्रदायकहरूले आज (बुधबार)देखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटै उठाउने निर्णय गरेको हो । सेवा प्रदायकले आफ्ना उपभोक्तालाई मूल्य वृद्धिबारे जानकारी गराइसकेको उनले बताए ।
इन्टरनेटको शुल्क बढाएर दुर्भाग्य हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । सरकारले अघिल्लो आर्थिक वर्षदेखि इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार शुल्क लगाउने निर्णय गरेको थियो ।
नेपाल टेलिकमले शुल्क नबढाउने
नेपाल टेलिकमले भने सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क आफैंले व्यहोर्ने गरी शुल्क नबढाउने जनाएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गर्दै शुल्क यथावत् रहने जानकारी दिएको हो ।