कृषि

निरन्तरको वर्षाले चितवनमा तरकारीको भाउ आकाशियो, गोलभेँडा किलोकै ११० रुपैयाँ

Banner

नारायणी अनलाइन डेस्क

चितवन, असार ३०-

केही दिनदेखिको अविरल वर्षाका कारण चितवनमा तरकारीको भाउ बढेको छ ।

बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो । भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुँदा भाउ बढेको भरतपुर महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुरका व्यापारी बताउँछन् । वर्षात्पछि बजारमा पहिलेजति धेरै तरकारी नआएको तरकारी बजारका प्रबन्धक थीरप्रसाद धितालले बताए ।

व्यवसायी धितालले भारतीय तरकारीको आयात कम, झरीले खेतमा नै तरकारी कुहिने तथा टिप्न समस्या भएको कारणले तरकारीको मूल्य बढेको नारायणी अनलाइनलाई जानकारी दिए । निरन्तरको वर्षाले तराईका क्षेत्रहरुमा डुबान तथा पहाडमा सडक अवरुद्ध भएकोले तरकारी ढुवानीमा पनि समस्या परेको उनले बताए ।

भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारका व्यवसायी रामराज पाण्डेका अनुसार वर्षाअघि ७० रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडा बढेर १०० भन्दा बढी पुगेको छ । त्यस्तै खुर्सानीको मूल्य डबल बढेर १५० रुपैयाँ किलो पुगेको छ । बोडी, काउली, घिरौला, करेला, चिप्लीभिँडीमा पनि २० देखि ५० रुपैयाँसम्म प्रतिकेजी वृद्धि भएको छ । ५० रुपैयाँ प्रतिकेजी रहेको काउली ४० रुपैयाँ बढेर अहिले ९० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै पहिलो ३० रुपैयाँ प्रतिकेजी रहेको तितेकरेलाको भाउ किलोमै ३० रुपैयाँ बढेर ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै ३० रुपैयाँ रहेको भन्टा ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै तरकारीमा मात्र नभएर फलफूलमा पनि केही मूल्य बढेको छ ।

अहिले चितवनमा काठमाडौँ, धादिङ, मकवानपुर,ललितपुर, सर्लाहीलगायतका क्षेत्रबाट तरकारी आउने गरेको छ । कृषकसम्म यातायात सम्पर्क टुट्नु तथा बाढी डुवानका कारण पर्याप्त सवारी साधन नचलेका कारण यसरी तरकारीको भाउ बढेको तरकारी व्यापारीहरुको भनाइ छ । मौसममा सुधार आएमा पहिलेकै अवस्थामा तरकारीको भाउ आइपुग्ने उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>