एथलेटिक्स

चितवनमा ११ औँ राष्ट्रपति रनिङ प्रतियोगिता सुरु

Banner

चितवन, असार २३-

चितवनमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश ३ का स्वास्थ्य, शिक्षा तथा कृषि समितिका सभापति घनश्याम दाहालले उद्घाटन गरेका हुन् ।

भरतपुर महानगरपालिकाले स्थानीय तहस्तरीय प्रतियोगिता नगराउँदा महानगरभित्रका ११० वटा विद्यालय प्रतियोगिता खेल्नबाट बञ्चित भएका छन् । सो प्रतियोगिताको उद्घाटन सत्रमा दाहालले विद्यालयस्तरबाट नै खेलकुदको विकास हुनुपर्नेमा जोड दिएका छन् । खेलकुदको विकासका लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको उल्लेख गर्दै दाहालले खेलकुदले खेलाडीलाई अनुशासित, राष्ट्रप्रेमी, लगनशील बनाउने बताए ।

प्रतियोगितामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले राज्यले खेलकुदमा पर्याप्त लगानी गर्नुपर्ने बताए ।
सानै कक्षादेखि खेलकुदमा रुचि राख्ने विद्यार्थीलाई खेल्ने वातावरण सिर्जना गराउनु राज्यको समेत दायित्व भएको डल्लाकोटीको भनाइ छ । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई नै चिनाउने बताए । जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

यसैबीच, सो प्रतियोगिताको उद्घाटनका अवसरमा जिल्ला खेलकुद विकास समिति चितवनले जनता टेलिभिजनका चितवन सम्वाददाता आनन्द पोखरेललाई नगद पुरस्कारसहित सम्मान पत्रद्वारा सम्मान गरेको छ । पोखरेललाई १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
प्रतियोगिता अन्तर्गत आज एथलेटिक्स तर्फ छात्र र छात्राका एक हजार पाँच सय मिटर दौड, चार सय मिटर दौड, एक सय मिटर दौड, ज्याबलिङ थ्रो, लङ जम्प र सर्टपुट तथा भलिबल प्रतियोगिता सकिएको छ । बाँकी प्रतियोगिताहरु भोलि हुने जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>