देश/प्रदेश

हेटौँडा बजारक्षेत्रमा २५ मिटर फराकिलो सडक विस्तार हुदै

Banner

हेटौंडा असार २३

हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ ।

डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा बजार क्षेत्रभित्र पर्ने सडकको दायाँबायाँ २५÷२५ मिटरभित्र पर्ने घर, टहरा, मन्दिर लगायतका संरचना हटाउन सूचना जारी गरेसँगै सडक विस्तारको अभियानले फेरि गति लिने भएको हो ।

यसै सन्दर्भमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको सडकको दायाँबायाँ २५÷२५ मिटर सडक विस्तारको काम स्वागतयोग्य भएको बताएका छन ।

रासससँग कुराकानी गर्दै पुलामीले प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा सडक फराकिलो नहुँदा निकै समस्या देखिएको भन्दै सडक विस्तार गर्ने कामलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

हेटौँडा बजार क्षेत्रमा पनि नियमअनुसार नै सडक विस्तार हुनुपर्ने उनको धारणा छ । राजमार्गको अन्य स्थानमा २५ मिटर सडक विस्तार गरेर हेटौँडा बजार क्षेत्रमा मात्रै १६ मिटर विस्तार गर्दा नियमअनुसार नहुने भएकाले सबैतिर एकै तरिकाले विकास गर्नुपर्नेमा उनले जोड दिए ।

राज्यले आवश्यक पहिचान गरी सुकुम्बासी नै हुने अवस्थाका घरधनी वा व्यवसायीको हकमा भने सोच्नुपर्ने उनको भनाइ छ । डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले सडक विस्तार अब निश्चित भएको प्रतिक्रिया दिए ।

उनले सडक विस्तार गरिने क्षेत्रको क्षतिको लगत सङ्कलनको कामसमेत सकिनै लागेको जानकारी दिए । यद्यपि अदालतको स्टे अर्डर भएकाको घर भने नभत्किँने भएको छ । सडक विस्तारको काम राप्ती रोड वा बुद्ध चोकबाट शुरु हुने उनको भनाइ छ ।

यता सडक विस्तारका विषयमा उद्योगी व्यवसायीको छाता सङ्गठन मकवानपुर उद्योग वाणिज्य सङ्घ भने असन्तुष्ट देखिएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले सरकारले उचित मुआब्जाको व्यवस्था गरेरमात्रै सो काम गर्नुपर्ने धारणा राखे ।

केही समयअघि सडक विस्तारको काम शुरु भइसकेको थियो । तत्कालीन क्षेत्रीय प्रशासक विनोद केसीले सडक भत्काउन शुरु गरेका थिए । केही घर पनि भत्काइएको थियो । उनको राजनीतिक दबाबमा सरुवा भएपछि यो विषय अन्योलमा परेको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>