चितवन विशेष

चितवनमा विकास खर्च निराशाजनकः आर्थिक वर्ष सकिन लाग्दा ५५ प्रतिशत मात्र खर्च

Banner

नारायणी अनलाइन डेस्क

चितवन, असार २३–

चितवनमा सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको असार २२ गते आइतबारसम्मको अवधिमा चितवनमा करिब ५५ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । पुँजीगत खर्चको तुलनामा चालु खर्चको प्रतिशत भने बढी देखिएको छ । तलबभत्तालगायत प्रशासनिक खर्च बढी भए पनि पुँजीगत खर्च भने हुन नसकेको हो । लेखा नियन्त्रक कार्यालयका अनुसार असार २२ गते सम्म ९३.४८ प्रतिशत चालु खर्च भएको छ ।

त्यसैगरी प्रदेश सरकारतर्फको वित्तिय प्रगति भने चितवनमा पूँजीगततर्फ जम्मा ३८.३३ प्रतिशत मात्र भएको छ जबकी प्रदेशकै चालु खर्च भने ६३.९३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष सकिन ९ दिन बाँकी रहँदा संघतर्फ चितवनमा २९ अर्ब २२ करोड  ७५ लाख ५४ हजार राजस्व संकलन भएको थियो भने प्रदेशतर्फ जम्मा ५२ करोड ६९ लाख ७९ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कार्यालयको तथ्यांकलाई हेर्दा विकास खर्चतर्फ चार अर्ब ७८ करोड १४ लाख ७१ हजारको अख्तियारी चितवनमा आए पनि यस आर्थिक वर्ष सकिन ९ दिन बाँकी रहँदा दुई अर्ब ६३ करोड २४ लाख दुई हजार रुपैयाँ मात्र खर्च भएको देखिन्छ । त्यस्तै प्रदेश सरकारतर्फ चितवनमा एक अर्ब ८८ लाख ५२ लाख ६७ हजारको विकास खर्चको अख्तियारी आएकोमा अहिलेसम्म जम्मा ७२ करोड २६ लाख दुई हजार मात्र खर्च भएको देखिन्छ ।

यसरी समग्र खर्चको अवस्था हेर्दा आर्थिक वर्ष सकिन ९ दिन मात्र बाँकी रहँदा विकास खर्चको तुलनामा प्रशासनिक खर्च ३८ प्रतिशतले बढी देखिएको छ । प्रदेश सरकारका योजनाहरुमा भएको खर्चको अवस्था भने विकास खर्चको तुलनामा प्रशासनिक खर्च २५ प्रतिशत बढी देखिन्छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालु आर्थिक वर्षमा करिब ५० प्रतिशतभन्दा बढी बजेट खर्च हुने दाबी गरे पनि चितवनमा आजसम्मको अवस्थामा अझै ५० प्रतिशत पुग्न १२ प्रतिशत बढी खर्च हुनुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>