देश/प्रदेश

एक महीनादेखि वृद्धको ओढारमा बास

Banner

गलेश्वर  असार २३-

ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत एक महीनादेखि ओढारमा बस्दै आएका छन  । घरजग्गा केही नभएका (सुकुम्वासी) पूर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्थ्ये। ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थालेका रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले जानकारी दिए ।

वडा सदस्य गौचनका अनुसार गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रोसमेत छैन । न त उनीहरुको नाता सम्बन्धीहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुई भाई गाउँमा बस्न थालेका हुन् भन्ने कुराको जानकारीसमेत गाउँलेलाई छैन । गाउँका वृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्षभन्दा बढी भएको आफूले जानकारी पाएको वडा सदस्य गौचनले जानकारी दिए ।

“गाउँमा न उनीहरुका कोही आफन्ति छन्, न त सम्पत्ति छ” गौचनले भने, “उनीहरुको आफन्तको बारेमा पत्ता लगाउन हामीले धेरै कोशिस ग¥यौँ तर पत्ता लगाउन सकिएन ।”

गौचनका अनुसार पहिला पहिला दुई भाइले गाउँमा ज्याला मजदूरी गरेर खाने गर्थे । दाजु लोदे (वास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाई एउटै कोठामा व्बस्थे । तर उनीहरुको बीचमा झगडा भएपछि भाई हिराबहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टी रहेको ओढारमा बस्न थालेका र यो कुरा आफूले केही दिन अघि मात्र थाहा पाएको गौचनले जानकारी दिए ।

गाउँपालिकामा यी दुई भाईको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई बासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाइदिने विषयमा सबै सहमत भएको वडाध्यक्ष बीलबहादुर फगामीले बताए । उनीहरुलाई अहिले तत्कालै रु एक लाख खर्च गरेर बस्ने बास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाई हिराबहादुर पूर्जाको नागरिकताको आधारमा दाजु लोदे पूर्जाको पनि नागरिकता बनाइदिने निर्णय भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>