राजनीति

संसदमा नेपाली सेना र प्रहरीमा श्रीमती संघ खारेज गर्न माग

Banner

काठमाडौँ, असार २२

नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी संथाहरु कायमै रहनु दुखद भएको बताइन् । ‘श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्था अन्त्य गरेर आएको भन्दै उनले हामीले अन्त्य गरेका हौं । राष्ट्रप्रमुख शासन प्रमुखसँग सम्बन्ध गाँसेवापत महारानी हुने, उनका छोराछोरी युवराज युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका हौं’ सांसद भुसालले भनिन् ‘अहिले पनि यो देशमा महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान छ ।’

अहिले पनि सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने उनले बताइन् । ‘हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थामा बनेका संस्थाहरु राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको छ, जनताले निर्वाचित भएका प्रतिनिधि शासकमा बदलिएका छन् । राष्ट्रप्रमुख सरकार प्रमुख बनिरहेका छन् । राज्यका महत्वपूर्ण निकायहरु सेना प्रहरी र निजामती प्रशासनमा अहिले पनि त्यसको धङधङी बाँकी छ’ भुसालले भनिन् ।

त्यस्ता श्रीमती संघहरु राज्यकै बजेटबाट सञ्चालन भइरहेको भन्दै उनले यस्तो प्रचलन गणतन्त्रसँग मेल नखाने बताइन् । ‘गणतन्त्रसँग मेल नखाने, राज्यको स्रोत साधनबाट परिचालन हुने यी सामन्ती पितृसत्तावादी संस्थाको यथासिघ्र खारेज गरियोस्’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>