चितवन विशेष

भरतपुरको नगर सभाः विकास निर्माणलाई दिगो, पारदर्शी र गुणस्तरीय बनाउने

Banner

चितवन, असार १६–

भरतपुर महानगपालिकाले नीति तथा कार्यक्रम र बजेटसंगै विभिन्न विधेयकहरु पारित गरेको छ ।

सोमबार सम्पन्न चौथो नगर सभाले महानगरपालिकाकी प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटसँगै विभिन्न विधेयकहरु पारित गरेको हो ।

नगर सभाले उत्पादनको क्षेत्रमा लगानी केन्द्रीत गर्ने निर्णय गरेको छ । शिक्षा, स्वास्थ्य, पर्यटनको विकास र विस्तारमा केन्द्रीत हुने महानगरले प्रतिज्ञा गरेको छ ।

यस्तै विकास निर्माणलाई दिगो पारदर्शी र गुणस्तरीय बनाउने महानगरले निर्णय लिएको छ । कर्मचारीहरूलाई काममा केन्द्रीत गर्न प्रोत्साहनको व्यवस्था गर्ने निर्णय लिँदै महानगरपालिका हाताभित्र सुर्ती, चुरोट, खैनी, गुट्खाको प्रयोगमा निषेध गरेको छ । नगरसभाबाट महानगरपालिकाको विशेष नापी गर्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै नगर सभाले आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम, आयव्यय विवरण, अर्थ विधेयक, विनियोजन विधेयक, राजश्व विधेयक २०७६, आर्थिक कार्यविधि नियमित गर्न बनेको विधेयक, सार्वजनिक नियमावली विधेयक समेत पारित गरेको छ ।

यसैगरी नगर सभाले भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६, सार्वजनिक खरिद नियमावली २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक, भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६ पनि पारित गरेको छ । महानगरले आर्थिक वर्ष २०७६÷७७ का लागि ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

नगर सभाले भरतपुरका संस्थापक मेयर मुक्तिलाल चुकेको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
चौथो नगर सभाको समापन गर्दै महानगरपालिका प्रमुख दाहालले महानगरपालिकालाई तीव्र विकासको गतिमा लैजान सबैको सामूहिक चासो, चिन्ता र सक्रियता रहनुपर्ने बताउँदै सामूहिक भावनाका साथ अगाडि बढ्न आग्रह गरिन् । उनले चौथो नगर सभाबाट पारित नीति तथा कार्यक्रम र विनियोजित बजेट सही ढंगले प्रयोगमा ल्याउन, विकास, सुशासन कायम गर्न आफू केन्द्रीत भएको भन्दै सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई इमान्दार भएर अगाडि बढ्न आग्रह गरिन् ।

उपप्रमुख ठकुरीले विकास निर्माणमा सहकार्य आवश्यक रहेको भन्दै आफू सबैसंग सहकार्य गर्न तयार रहेको बताइन् ।

नगर सभामा विभिन्न विषयगत समितिका संयोजकहरु अरुणपीडित भण्डारी, पदमपाणी सुवेदी, चित्रसेन अधिकारी, विष्णुराज महतो, जयराम श्रेष्ठ, दामोदर न्यौपाने, विजय भुजेललगायतले नगर सदस्यहरुको गुनासोको सम्बोधन गर्दै आफ्ना धारणा राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरपालिकाले प्रवाह गरेका विषय र योजनाहरुको बारेमा धारणा राखेका थिए । सभामा उपमेयर ठकुरीले न्यायीक प्रतिवेदन पेश गरेकी थिइन् ।

नगर सभाको असार १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सभाहलमा पूर्वप्रधानमन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>