चितवन विशेष

सर्पदंश उपचारको केन्द्र बन्दै भरतपुर अस्पताल

Banner

नारायण अधिकारी

चितवन असार १६-

आइतबार साँझ भरतपुर अस्पतालको आकस्मिक कक्षमा ११ जना सर्पले डसेका बिरामी उपचारका लागि आएका थिए । हिजोआज दैनिकजसो उक्त सङ्ख्यामा बिरामी अस्पताल आउने गर्दछन् ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती ११ जना बिरामीमध्ये छ चितवनका, दुई नवलपरासीका, दुई मकवानपुरका र एक जना लमजुङका हुन् । अन्य समयमा बारा, पर्सा, धादिङ, रुपन्देही, तनहुँ, गोरखा र कपिलवस्तुका हुने गरेका छन् ।

सर्पदंशको आशङ्काबाट ठूलो सङ्ख्यामा बिरामी आउने भए पनि विषालु सर्पले डसेका बिरामीको सङ्ख्या कम हुने गरेको छ । पौडेलका अनुसार एक वर्षमा सर्पले डसेको आशङ्कामा अस्पतालमा उपचारका लागि दुई हजार बढी आउने गर्दछन् । उनीहरुलाई २४ घण्टासम्म अस्पतालमा राख्ने गरिन्छ । विषालु सर्पले डसेकामा लक्षण देखा परेपछि उपचार शुरु गरिन्छ भने अन्यलाई सामान्य उपचारपछि घर पठाउने गरिन्छ । चालू आर्थिक वर्षमा हालसम्म विषालु सर्पको डसाइका ९३ बिरामीको उपचार गरिएको पौडेलले जानकारी दिए ।

उपचारका लागि आएका एक बालकको बाल सघन उपचार कक्षको अभावमा मृत्यु भएको छ । यो मौसममा यस्ता बिरामी धेरै आउने गर्दछन् । पौडेलका अनुसार चालू वर्षको वैशाखयता विषालु सर्पले डसेका २३ जनालाई अस्पतालले उपचार गरिसकेको छ ।

अस्पतालमा लामो समय सर्पको डसाइका सम्बन्धमा अध्ययन, अनुसन्धान र उपचारमा सक्रिय भएर केही दिनअघि मात्र निवृत्त हुनुभएका डा विजय पौडेलका अनुसार भरतपुर अस्पताल यस क्षेत्रको सर्पदंश उपचार केन्द्रका रुपमा विकास हुँदै गएको छ । विसं २०६० मा पौडेल फिजिसियनका रुपमा भरतपुर अस्पताल आउँदा सर्पदंश बिरामीको अवस्था कम थियो । विगतलाई सम्झँदै उनले भने, “सर्पले डसेका ५०० हाराहारी बिरामी अस्पताल आउथे । तीमध्ये १७५ जति विषालु सर्पका हुन्थे । उनीहरुमध्ये ३० प्रतिशतजतिको निधन हुने गर्दथ्यो ।”

पौडेलकै नेतृत्वमा भरतपुर अस्पतालसहित देशका तीन स्थानमा अध्ययन र अनुसन्धान थालियो । जसको नतिजाले मृत्यु दरलाई पाँच प्रतिशत तल झारेको पौडेल बताउछन ।

पहिले एउटै बिरामीलाई १६० भायलसम्म ‘एन्टी स्नेक भेनम’ दिइने भए पनि अनुसन्धानपछि अहिले बढीमा ३० भायल दिइने गरेको पौडेलले बताए । गत वर्षको तथ्याङ्कलाई समग्रमा हेर्दा प्रतिव्यक्ति १४ भायल दिइएको थियो ।

उनीहरुले तयार गरेको निर्देशिका अनुसार नै देशभर धेरै मात्राबाट कम मात्रा दिँदै जाने नयाँ पद्धतिको थालनी गरेर बिरामी पनि बचाउने र औषधि पनि कम खपत हुने गरेको पौडेलको भनाइ छ । जसका कारण पछिल्ला वर्षमा औषधिको अभाव हुन छाडेको छ ।

वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी भरतपुर अस्पताल यस क्षेत्रकै सर्पदंश उपचारको केन्द्र भएको बताउछा। अस्पताल आइपुगेको बिरामी बचाउन सकिने भन्दै उनले सर्पले डसेको थाहा पाउनासाथ जे जस्तो साधन छ त्यसमा तत्काल ‘एन्टी स्नेक भेनम’ उपलब्ध हुने अस्पतालमा पु¥याउनुपर्ने सुझाव दिन्छन ।

पछिल्लो अनुसन्धानयताको उपलब्धिसँगै बिरामी बचाउन सकिएको भन्दै उनले अस्पतालको सघन उपचार कक्षमा सर्पदंशका बिरामीकै लागि दुई वटा श्यया राख्ने गरेको अधिकारीले जानकारी दिए । यससँगै प्रत्यक्ष निगरानी र आकस्मिक कक्षमा पनि त्यस्ता बिरामीका लागि श्यया छुट्याएर राखिएको छ ।

मौसम परिवर्तनसँगै विशेषगरी मङ्सिर, पुस, माघ र फागुनमा सर्पदंशका बिरामी आएको पाइँदैन । वर्षको अन्य समयमा बिरामी आउने गर्दछन् । उपचारका लागि आवश्यक पर्ने औषधि ‘एन्टी स्नेक भेनम’ अस्पतालले बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । हालै मात्र भरतपुर अस्पताल केन्द्रीय अस्पताल बनेको छ । अन्य सेवामा पनि सुधार हुँदै गएपछि बिरामीको आकर्षण भरतपुर अस्पतालमा बढ्दै गएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>