चितवन विशेष

भरतपुर महानगरमा फेरी लफडा, काँग्रेसले गर्‍यो नगर सभा बहिष्कार

Banner

चितवन, असार १२–

चितवनको भरतपुर महानगरपालिकामा फेरी लफडा भएको छ । कहिले के काण्ड त कहिले के काण्डले लफडा भइरहेको भरतपुर महानगरमा फेरी आज काँग्रेसबाट निर्वाचित उपप्रमुख पार्वती शाह ठकुरीलगायतका १५ जना जनप्रतिनिधिले नगर सभा नै बहिष्कार गरेका हुन् ।

यही असार १० गते नेकपा अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा मेयर रेनु दाहालका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामझामका साथ उद्घाटन गरेको नगर सभा समापन नहुँदै काँग्रेस पक्षले बहिष्कार गरेको हो । बजेट विनियोजन र विभिन्न समिति निर्माणको विषयमा कुरा नमिलेपछि नगर सभा बहिष्कार गरेको उपप्रमुख पार्वती शाह ठकुरीले नारायणी अनलाईनलाई बताइन् । उनले आफूसंग छलफल नै नगरी विभिन्न १० वटा समिति बनाएपछि बैठक बहिष्कार गरेको जानकारी दिइन् । उनले भनिन्–‘समिति बनाउन मैले नै प्रयास गरेको हुँ, तर छलफल नै नगरी एकोहोरी काँग्रेसको ४, नेकपाको ६ वटा भनेर समिति बनाएको निर्णय बैठकमा ल्याएपछि बहिष्कार गरेका हौं ।’

उपप्रमुख शाहले थपिन्–‘म कार्यक्रम भएको बेला एक्कासी फोन गरेर समितिको निर्णय गर्न बोलाए, पहिले खबर गर्नु पर्ने मलाई तुरुन्तै बोलाएपछि कार्यक्रममा भएकोले उपस्थित हुन सकिन्, पछि एकैचोटी बैठकमा निर्णय ल्याएपछि मैले असन्तुष्टि पोखेको हुँ, सबै वडा अध्यक्षहरुले विरोध गरेका हुन् ।’ उपप्रमुख शाहले आफूले विरोध जनाउँदा नगर प्रमुख रेनु दाहालले आफूलाई अपशब्द बोलेपछि आफू बाहिरिएको बताइन् ।

भरतपुर ८ का वडाअध्यक्ष दामोदर न्यौपानेले समितिको विषयमा एकोहोरो निर्णय गरेपछि नगर सभा बहिष्कार गरिएको जानकारी दिए ।

उता भरतपुर महानगरपालिकाका प्रवक्ता एवंम् वडा नं. १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले उपप्रमुखले बैठकमा नचाहिने रवैया देखाएको आरोप लगाएका छन् । उनले भने–‘वडाअध्यक्षहरुको सहमति हुँदाहुँदै पनि उपमेयरको मात्रै असहमति देखिएको हो, कुनै त्यस्तो विवाद भएको छैन् ।’ उपमेयरले नचाहिने कुरामा जिद्दि गर्नु तर्कसंगत नभएको उनले बताए ।

उनले असार १४ गते विहान ११ बजेसम्मका लागि नगर सभा बैठक स्थगित भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>