चितवन विशेष

शुद्ध पिउने पानीले खहरेबासीमा खुशीयाली

Banner

चितवन, असार ११–

भरतपुर महानगरपालिका–२९ जुगेडी खहरेका बासिन्दा खानेपानीको समस्याबाट मुक्ति पाएका छन् । वर्षात्को समयमा खोलामा आउने भेलले खानेपानीको समस्या भोग्दै आएका स्थानीयले मुक्ति पाएका हुन् । घर–घरमै शुद्ध पानी जडान भएपछि लामो समयदेखीको खानेपानी समस्या समाधान भएको हो । खानेपानीको समस्या समाधान भएपछि खहरेका बासिन्दा खुशी भएका छन् । सो क्षेत्रमा गतवर्ष खहरेखोला खानेपानी आयोजना सम्पन्न भएको थियो ।

खहरे खानेपानी आयोजनाबाट ३४ घरधुरी लाभान्वित भएका छन् । मूलको पानी भएको मुहानमा दुई वटा ट्याङ्की निर्माण गरिएको छ । त्यसबाट निस्केको पानी २० हजार घन मिटरको रिजर्भ ट्याङकी मार्फत वितरण गरिएको छ । करिब २४ लाखको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत बस्तीदेखी दुई किलोमिटरको दुरीमा रहेको मूलबाट पानी ल्याईएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ ले उक्त खानेपानी आयोजनाको लागी सात लाख बजेट विनियोजन गरेको थियो । त्यस्तै नेपाल ग्रामीण निर्माण संस्थाले एक लाख ५२ हजार नगदसहित सात लाख १५ हजार सहयोग गरेको छ । आरआरएनको समन्वयमा भिसिए र डब्लुडब्लुएचले पनि सहयोग गरेको खहरेखोला खानेपानी उपभोक्ता समितिले जनाएको छ । खानेपानीको लागी स्थानीयले करिब १० लाख बराबरको जनश्रमदान गरेका थिए ।

यसैबीच खहरेखोला खानेपानी उपभोक्ता समितिको बुधबार वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो क्रममा बोल्दै अध्यक्ष नारायण कुमार मगरले शुद्ध पिउने पानी उपलब्ध भएपछि एक वर्षदेखी जीवनयापन र व्यवसायमा सहज भएको बताए । ‘घण्टौं हिडेर पानी लिन जाने हामी घरको आँगनमा धारा आउँदा खुसी छौं’ उनले भने ‘अब हामी दिगो व्यवस्थापनमा लागेका छौं ।’

पानीको संरक्षण र सरसफाईको लागि समितिले योजना बनाएको छ । साधारण सभाका प्रमुख अतिथि वडा नम्बर २९ का वडाध्यक्ष मानबहादुर मगरले खहरेखोला खानेपानी उपभोक्ता समितिले गरेको काम वडा स्तरमै नमुना भएकोे बताए । ‘खोलाको पानी ल्याउँदा बालुवा आउथ्यो’ उनले भने ‘व्यवस्थित योजनाका साथ गरिएको खानेपानी व्यवस्थापन वडामै नमुना भएको छ ।’ खानेपानी योजनालाई अझै व्यवस्थित बनाउने समितिले जनाएको छ ।

साधारणसभामा नेपाल ग्रामीण पुर्ननिर्माण संस्था (आरआरएन) का वरिष्ठ सहजकर्ता मनकुमार चौधरी, सो संस्थाका कृति बुढाथोकी, उपभोक्ता समितिका उपाध्यक्ष तेजबहादुर आले मगरलाई उच्च योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा जुगेडी प्रहरी चौकीका इन्चार्ज सुनिल थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>