चितवन विशेष

चितवनमा उद्योग–विश्वविद्यालय संवादः समाजमा पढाइ र अवसरबीच तालमेल नहुनु बिडम्वना

Banner

चितवन, असार ११-

चितवनमा आज भएको ‘उद्योग र विश्वविद्यालयबीचको संवाद’ कार्यक्रममा चितवनमा पढाइ र रोजगारीको अवसरबीच तालमेल नहुनु बिडम्वना भएको विज्ञहरुले बताएका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजना र उद्योग वाणिज्य संघ चितवनको सहआयोजनामा भएको कार्यक्रममा उद्योगी तथा प्राध्यापकहरुले यस्तो चिन्ता र चासो व्यक्त गरेका हुन् । कार्यक्रममा उनीहरुले समय र बजारको माग अनुसार पाढ्यक्रम निर्माण गरी सोही अनुसारको सिकाइ हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा डिल्लीराज शर्माले क्याम्पसहरुले जे कक्षा कोठामा पढाइरहेका छन् त्यो विषय बजारमा उपयोग नहुनु बिडम्वना रहेको बताए । उनले भने, ‘ उद्योग–व्यवसाय क्षेत्रबीच सहकार्य हुन जरुरी छ तर बजारको माग र सिकाइबीच ठूलो फरक भने हुनु हुँदैन ।’ उनले होटल तथा अन्य क्षेत्रमा विश्वविद्यालयबाट उत्पादन भएका गुणस्तरीय उत्पादनलाई चितवनमा प्रयोग गर्न नसकेको बताए । चितवनको सौराहाका होटलहरुमा नै हे¥यौं भने होटल व्यवस्थापनमा स्नातक गरेको जनशक्ति एक जना पनि नभेटिने उनले गुनासो गरे । धेरै पैसा दिनुपर्छ भनेर पनि कम योग्यता भएको जनशक्तिलाई व्यवसायीहरुले रोजगारी दिने गरेको उनले विचार राखे । चितवनको बजारको माग अनुसारको जनशक्ति क्याम्पसहरुबाट उत्पादन गर्न आपसी सहकार्यको खाँचो रहेको उनले बताए । प्राध्यापक डा शर्माले उद्योग र पर्यटनको हब बन्दै गएको चितवनमा गुणस्तरिय जनशक्तिलाई प्रयोग गर्न अझै नसकिएको बताए ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका प्रमुख कपिलदेव सुवेदीले शैक्षिक क्षेत्र र उद्योगको बीचमा ठूलो ग्याप रहेकोले यसलाई कम गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘व्यवस्थापनको विद्यार्थीहरुलाई ६, ७ वर्ष लगाएर हामीले पढाएका हुन्छौं तर बजारमा काममा जाँदा भौचर भर्न पनि आउँदैन भन्ने गुनासो सुन्ने गरिएको छ ।’ शैक्षिक संस्थाबाट प्राप्त ज्ञान तथा जनशक्तिलाई उद्योगहरुले प्रयोग गर्न सकेमा दुवैलाई धेरै फाइदा हुने उनले विभिन्न उदाहरणहरु दिए । अमेरिकाका कतिपय उद्योगहरुले विश्वविद्यालयलाई ल्याबको रुपमा प्रयोग गर्ने गरेको उनले बताए ।

कार्यक्रमको उद्घाटन शत्रमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले प्राज्ञिक ज्ञानलाई कसरी व्यवसायिक क्षेत्रमा उपयोग गर्ने भन्ने विषयमा यसप्रकारको कार्यक्रम निकै महत्वपूर्ण हुने विचार राखे । हाम्रो अर्थतन्त्र पूर्णतया आयातमा निर्भर रहेको भन्दै उनले उद्योग व्यवसाय क्षेत्र र विश्वविद्यालय सबै मिलेर उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख खेमनारायण सापकोटाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै बजारको आवश्यकता र विश्वव्यापीकरणको अवधारणा अनुसार आवश्यक जनशक्तिको उत्पादन गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए । क्याम्पसहरुमा सिकिने सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासबीच तालमेल हनुपर्ने उनको विचार थियो । नेपालमा यसको प्रभावकारी तालमेल हुन नसक्नु दुःखद् भएको उनले बताए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले अहिले कक्षामा पढेर मात्र भने पनि अभ्यासबाट सिक्नुपर्ने विचार राखे । नेपालका कतिपय उद्योगहरु कच्चा पदार्थ किन्न भारत जानुपर्ने र जनशक्ति पनि भारतबाट नै ल्याउनुपर्ने बाध्यता आउनु बिडम्वना भएको उनले बताए । लेक्चर सुनेर परीक्षा दिएर धेरै अंक ल्याएर मात्र कुनै अर्थ नहुने भन्दै उनले बजारको माग अनुसारको प्राविधिक ज्ञानको पनि विकास गर्न सक्नुपर्ने विचार राखे ।

सप्तगण्डकी क्याम्पसका प्राध्यापकहरु, कर्मचारीहरु र विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा चितवन युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष निरञ्जन न्यौपानेले ‘चितवनका उद्यम क्षेत्रका अवसरहरु’, त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्वसहायक डिन डा ध्रुवराज पोखरेलले ‘उद्योग र विश्वविद्यालयको बीचमा हुने सहकार्य’, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले ‘उद्योगले कस्तो प्रकारको जनशक्तिको आश गरिरहेको छ’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी सोही अन्तरसंवाद कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले ‘विद्यार्थीहरुबाट उद्योग क्षेत्रले गरेको आशा’, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा तिलचन्द्र भट्टराईले उद्योग र शिक्षण संस्थाको बीचमा साझेदारीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योगी र प्राध्यापकहरुको बीचमा समूहगत छलफल भएको थियो । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको अन्तर संवाद कार्यक्रमको समापन सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले समापन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>