चितवन विशेष
विप्लवजी मुलधार राजनीतिमा छिट्टै आउँदै हुनुहुन्छः प्रचण्ड

चितवन, असार १०–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलो चाडो नेत्रविक्रम चन्द ‘विप्लव’ मुलधार राजनीतिमा फर्किने बताएका छन् ।
आज (मंगलबार) भरतपुर महानगरपालिकाको चौथो नगरसभाको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अशान्ति फैलाएर समस्या समाधान नहुने भन्दै आफूले पाएको जानकारी अनुसार विप्लव छिट्टै मुलधारमा फर्किने बताए । आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै विस्तारै नयाँ विचार आएसंगै विप्लव मुलधार राजनीतिमा फर्किने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले दुई चार वटा बम पड्किदैमा समृद्धिको यात्रा विथोलिन्छ की भन्ने शंका नगर्न आग्रह गर्दै बम पड्काएर कुनै पार नलाग्ने दावी गरे । उनले सबै अवस्था विप्लवले बुझि सकेको भन्दै अब यस्ता गतिविधि विप्लवले धेरै नगर्ने प्रचण्डको विश्वास छ । उनले भने–‘विप्लवजीले सबै कुरा बुझ्दै हुनुहुन्छ, यस्ता गतिविधि अब धेरै गर्नुहुन्न् ।’
अध्यक्ष प्रचण्डले पार्टीका सबै नेताहरुलाई शान्ति प्रक्रियामा आउँदा काठमाडौंमा सुरक्षित अवतरण गराएको भन्दै नबझु्नेहरु विस्तारै फर्किने बताए । उनले विगतमा पार्टी फुटाएर गएकाहरु फर्किदै आईरहेको स्मरण गराउँदै विप्लव पनि त्यसरी नै आउने दावी गरे ।
उनले शान्ति प्रक्रियामा आएपछिको एउटा घटना समेत सुनाए । विप्लवले भनेको कुराको स्मरण गर्दै प्रचण्डले सुनाए–‘कमरेड तपाईले हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई चाँही अनुभुति के भयो भने नुवाकोटको एउटा भर्खरकी एउटी तामाङनी केटीलाई काठमाडौं लगरे म बिहे गर्छु भनेर बम्बई पु¥याए जस्तो फिल भयो भने ।’
उनले यो कुराले आफ्नो दिमाग हल्लिएको भन्दै भने–‘अब सायद उहाँले बुझनु भएको होला मैले बम्बइ होइन काठमाडौं नै ल्याएको छु सबैलाई । मैले कसैलाई बम्बई लगेको छैन भनेर बुझ्नलाई उहाँले केही केही गर्नु भएको हो, अब धेरै गर्नु हुन्न भन्ने लागेको छ मलाई ।’ उनले आफूले पाएको संकेत अनुसार विप्लवले बम्बई नभई काठमाडौं नै ल्याएको भनेर विप्लवले बुझ्न थालेको बताए । उनले छिट्टै समस्याको शान्तिपूर्ण समाधान हुने बताए ।