प्रचलन

नेकपा चितवनः मतपत्र काण्डमा दोषी ठहरिएका शिवाकोटी र न्यौपाने पनि जिल्ला सदस्य

Banner

चितवन, असार १०–

लामो समयपछि सोमबार भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको जिल्ला कमिटी घोषणा गरियो । अध्यक्षमा पूर्व माओवादी केन्द्रका यमबहादुर परियार र सचिवमा पूर्व एमालेका कृष्णभक्त पोखरेल सपथ खाई सकेका थिए । सोमबार भने सदस्यहरु घोषणा गर्दै जिल्ला कमिटीलाई पूर्णता प्रदान गरियो ।

यससंगै नेकपा चितवन कमिटी १५५ सदस्यीय बनेको छ । पार्टी एकीकरणसंगै बनेको जम्बो जिल्ला कमिटीमा को कस्ता व्यक्ति परे भन्ने बारे धेरैलाई चासोको विषय बनेको छ । जिल्ला कमिटीमा स्वच्छ छविका व्यक्ति आाउनु पर्ने हो तर अदालतले अपराधि ठहर गरेका व्यक्ति समेत नेकपा चितवनको जिल्ला कमिटीमा स्थान पाएका छन् । चितवन जिल्ला अदालतले भरतपुर महानगरको निर्वाचनमा मतपत्र च्यातेको घटनामा दोषी ठहर गरेका व्यक्तिहरु द्रोणबहादुर शिवाकोटी र मधु न्यौपाने पनि नेकपाको जिल्ला कमिटी सदस्य बनेका छन् ।

नेकपा प्रदेश ३ कमिटीले अनुमोदन गरी पठाएको जिल्ला सदस्यहरुको नामावलीमा शिवाकोटीको नाम ६८ नम्बरमा छ भने न्यौपानेको ९६ नम्बरमा रहेको छ । अदालतले दोषी ठहर गरेका यी दुई व्यक्तिलाई अदालतले यही असार १६ गते सजाय समेत तोक्दैछ । तर नेकपाले निलम्बन गर्नुपर्नेमा जिल्ला कमिटी सदस्य नै बनाएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले शिवाकोटी र न्यौपानेलाई मतपत्र च्यातेको घटनामा दोषी ठहर गरेको थियो । यही असार ५ गते सजाय तोक्ने भनिए पनि न्यायाधीश श्रेष्ठ बिदामा बसेकाले सजाय तोक्ने मिति असार १६ लाई सरेको छ । उनीहरुलाई ३० दिन भित्रमा फैसला अनुसार कारवाही तोक्नुपर्ने हुन्छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार सजाय तोकिन लागेको चितवन अदालतले जनाएको छ ।

निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा जिल्ला अदालतले २ वर्षपछि गत जेठ ३० गते फैसला गरेको थियो । जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ वैशाख ३१ भएको निर्वाचन अन्तर्गत जेठ १४ गते राती भरतपुर महानगरपालिका वडा १९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई दोषी ठहर गर्दै कसुर निर्धारण गर्ने गरी फैसला गरेको थियो । यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं। १९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी २० वडा मात्रै थियो । त्यस्तो अवस्थामा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । सो क्रममा तत्कालिन एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दै काँग्रेसको गठबन्धनबाट तत्कालिन माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>