चितवन विशेष

दोषी ठहरिएका शिवाकोटी र न्यौपानेलाई असार १६ मा सजाय तोकिने

Banner

चितवन, असार ५–

मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई कारवाहीका लागि आज तय गरिएको पेशी सरेको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठ बिदामा रहेकोले आजको पेशी सरेको अदालतका सूचना अधिकारी रुद्रमणी गिरीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले कारवाहीको लागि अर्को पेशी असार १६ गते तोकिएको बताए । उनका अनुसार ३० दिन भित्रमा फैसला अनुसार कारवाही तोक्नुपर्ने हुन्छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार सजाय तोकिन लागेको चितवन अदालतले जनाएको छ ।

निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा जिल्ला अदालतले २ वर्षपछि गत जेठ ३० गते फैसला गरेको थियो । जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ वैशाख ३१ भएको निर्वाचन अन्तर्गत जेठ १४ गते राती भरतपुर महानगरपालिका वडा १९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई दोषी ठहर गर्दै कसुर निर्धारण गर्ने गरी फैसला गरेको थियो । आरोपीतहरु द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने रहेका छन् ।

सिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं. १९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी २० वडा मात्रै थियो । त्यस्तो अवस्थामा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । सो क्रममा तत्कालिन एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दै काँग्रेसको गठबन्धनबाट तत्कालिन माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>