नवलपुर
‘मिस्टर नेपाली’ को छायाँङ्कन ४० प्रतिशत सकियो

ज्ञानु पंगेनी,
नवलपुर, असार ४–
देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘मिस्टर नेपाली’को छायाँङ्कन नवलपुरमा भईरहेको छ ।
चलचित्रको ४० प्रतिशत काम पुरा भएको चलचित्रका गणेश सापकोटाले जानकारी दिए । गत जेठ २१ गतेदेखि नवलपुरको कावासोती पिठौलीमा चलचित्रको सुटिङ्ग भइरहेको छ । चलचित्रको ७५ प्रतिशत सुटिङ्ग कावासोतीमा नै हुनेछ ।
कथाले मागे अनुसारको लोकेशन गुगलमा खोज्दा नवलपुर उचित लागेपछि यहाँ आएको सापकोटाले बताए । चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गरेको र यस चलचित्र विशुद्ध मनोरञ्जनात्मक रहेको सापकोटाको भनाई छ । चलचित्रले विशेष गरी विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउने र पारिवारिक समेत रहेको सापकोटाले बताए । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन छ । यस चलचित्रमा नायक भुवन केसी र नायीका रीमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउने छन् । नायक केसी दोहोरो चरित्रमा देखिदैछन् ।
नायक केसीले चलचित्रमा दर्शकले आफूलाई पृथक भुमिकामा देख्न पाउने बताए । उनले भने–‘चलचित्रको कथा राम्रो लागेपछि भुमिका निर्वाह गरेको हुँ ।’ चलचित्रमा मूख्य भुमिकामा भने नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गरेका छन् । यी दुवैले यसै चलचित्रबाट डेब्यु गरेका हुन ।
यस्तै चलचित्रमा विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तव, अनिता गिरी, आशिष गिरी, सरोज खनाल, रवि डङ्गोललगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुसाल र दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
चलचित्रको ७५ प्रतिशत काम नवलपुरको कावासोतीमा गर्ने र बाँकी २५ प्रतिशत काम काठमाण्डौमा गर्ने सापकोटाले जानकारी दिए ।