चितवन विशेष

तार र होर्डिङबोर्डले कुरूप भरतपुर महानगर,स्मार्ट सिटी गफ मात्रै

Banner

चितवन, असार १-

भरतपुर महानगरमा झुण्डयाइएका तार तथा ठडयाइएका होर्डिङबोर्ड तथा व्यानरले शहरलाई कुरूप बनाएका छन् । तर, तार र होर्डिङबोर्ड व्यवस्थित गराउनेतर्फ कसैको ध्यान पुग्न सकेको छैन । यसले भरतपुर र नारायणगढ बजारलाई कुरूप त बनाएको छ नै, बेलाबेलामा निकै ठूला दुर्घटनासमेत गराउने गरेको छ ।

नारायणगढका सडक किनारमा वनमा लहरा गुजुल्टिए जत्तिकै विभिन्न किसिमका तारहरू गुजुल्टिएको देख्न सकिन्छ । बिजुली, टेलिफोन, इण्टरनेट आदिका तारको गुजुल्टोका कारण सडक किनारमा हिँड्न पनि डर लाग्ने अवस्था छ ।

महानगरले सीमित शुल्क उठाउने गरी ठेक्कामा विज्ञापन कम्पनीलाई होर्डिङबोर्ड राख्न दिए पनि यस्ता बोर्ड राखेर त्यस्ता ठेक्का पाउने कम्पनीले वार्षिक करोडौं रुपैयाँ असुली रहेको देखिन्छ । ठेकदार कम्पनीले केही कमिसन महानगरका कर्मचारीहरुलाई पनि बुझाउने व्यवसायीहरुको आरोप छ ।

भरतपुरका व्यवसायी अर्जुन सापकोटाले शहरको चोकचोकमा राखिएका डिस्प्ले बोर्ड र अन्य विज्ञापन मार्फत् ठेकदार कम्पनीले करोडौं उठाइरहेको आरोप लगाए । उनले चौबिसकोठी, लायन्सचोक र शहिदचोकमा राखिएका डिस्प्ले बोर्ड मार्फत् एउटै विज्ञापबाट कम्पनीहरुबाट वार्षिक सात लाख भन्दा बढी उठाइरहेको बताए ।

भरतपुरको हाकिमचोक र रिजालचोकमा सोलार लाइट राख्दा ठेकदार कम्पनीले ५५ हजारमा पर्ने पोल ९० हजारमा गाडेको व्यवसायीको आरोप छ । स्थानीयसँग ४० प्रतिशत रकम संकलन गरेर गरिएको यस्तो काम तीन दिन पनि नचलेको व्यवसायी सापकोटाले नारायणी अनलाइनलाई बताए ।

बजारमा अनाधिकृत रुपमा राखिएका व्यावसायिक होर्डिङ बोर्डहरु केही वर्ष अगाडि तत्कालिन भरतपुर नगरपालिका हुँदा हटाइएको भए पनि यसले निरन्तरता पाउन नसक्दा बजारको सुन्दरता हराउँदै गइरहेको छ । सार्वजनिक जग्गा नै कब्जा गर्ने गरी कसैको घर तथा पसल नै छेकिने गरी भरतपुरको बजारी क्षेत्रमा यस्ता होडिङ बोर्डहरु राखेको देखिन्छ । १८ फिट अग्ला होर्डिङ बोर्डले कतिपय प्रतिक्षालयहरु व्यापारमा परिणत हुँदै गएको सर्वसाधारणको आरोप छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले अनुमति नलिई मनपरी राखिएका होर्डिङबोर्डहरु विस्तारै हटाउँदै जाने महानगरको नीति रहेको बताए । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले होर्डिङबोर्डबाट हुने कमिसनको चलखेलबारे आफूलाई केही जानकारी नभएको बताए । उनले भने, ‘यसबारेमा म पनि खोज तथा अध्ययन गर्छु ।’

महानगरका लेखा अधिकृत जगन्नाथ अर्यालले होर्डिङबोर्डबाट दुर्घटना पनि निम्तिन सक्ने भएकोले पसलमा राखिने साना आकारका होर्डिङबोर्ड बाहेक ठूला बोर्डहरु राख्न नपाइने बताए । उनले यसअघि होर्डिङ बोर्ड राख्न महानगरबाट एक वर्षको लागि ठेक्का लिएको कम्पनीलाई पनि अब समय थप नगरिने जानकारी दिए । उनले ठेक्का पाएको कम्पनीले तोकिएको रेट बढी लिन र जथाभावी होर्डिङबोर्ड राख्न नपाइने बताए ।

यसअघि भरतपुर नगरपालिका हुँदा तत्कालिन कार्यकारी अधिकृत नारायण सापकोटा आफै बजारमा गएर होर्डिङ हटाउँदै हिडेका थिए । बजार क्षेत्रबाट होर्डिङ बोर्ड हटाइँदा केही समय भरतपुरको सुन्दरता थपिएको भए पनि सापकोटाको सरुवासँगै अभियानले निरन्तरता पाउन सकेन । सापकोटा सरुवा भएर अन्यत्र गएसँगै त्यसपछि आएका कार्यकारी अधिकृतहरुले बजार क्षेत्रको सुन्दरतालाई ध्यान दिन नसक्दा बजार नै कुरुप हुने गरि जथाभावी होर्डिङ बोर्ड राख्ने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ ।

भरतपुर नगर क्षेत्र भित्र कति मात्रामा होर्डिङ बोर्ड राखिएका छन् भन्ने विषयमा नै महानगरपालिका अनविज्ञ रहेको छ । बजारको सौन्दर्य नै हराउने गरी भरतपुरका मुख्य बजार क्षेत्रमा व्यापारिक होर्डिङ बोर्डहरु राख्न नहुने स्थानीय बासिन्दा बताउँछन् । शहरमा सूचनामूलक, जानकारीमूलक चिन्हहरु राख्दा फाइदा हुने भए पनि अनावश्यक रुपमा व्यावसायिक होर्डिङ बोर्ड राख्दा शरहको सुन्दरता हराएको भरतपुर–१० का विश्व पौडेल बताउँछन् ।

सरसफाई अभियान्ता भोजनारायण कँडेलले महानगरपालिका निरिह भएका कारण बजार झन् कुरुप बन्दै गएको बताए । उनले भने,‘हामीले पटक–पटक महानगरपालिकाको ध्यानाकर्षण गराएका छौं तर कुनै कदम चाल्दैन् ।’ कार्याक्रम आयोजना गर्दा टाँगेका बोर्ड र ब्यानर कार्यक्रम सम्पन्न भएको एक बर्षसम्म पनि नहटाउने गरेको उनको गुनासो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>