चितवन विशेष
रंगशाला डोजर प्रकरणः मुख्य आरोपी कँडेलसहित ४ जना रिहा

चितवन,जेठ २७-
चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काएको अभियोगमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार करीव १०.३० बजे डोजर प्रकरणका मुख्य आरोपी मानिएका प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बि.क. र धुव्र चापागाई रिहा गरेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको उपस्थितिमा उनीहरुलाई रिहा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको बताए । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुनःनिर्माण गर्ने विषयमा सहमति जनाएपछि रंगशाला निर्माणमा थप वातावरण बनाउन रिहा गरिएको प्रजिअ वस्नेतले बताए ।
रिहा भएका चारै जनालाई १२ दिनसम्म दैनिक हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिए ।